मदन भण्डारी फाउन्डेसनले केही भारतीय सञ्चारमाध्यमले नेपाल र नेपालका प्रधानमन्त्रीबारे कपोलकल्पित सामग्री प्रसारण गरेकामा निन्दा गरेको छ ।
नेकपाका अध्यक्ष एवं फाउन्डेसन संरक्षक ओली र नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीलाई व्यक्तिगत रूपमा जोडेर उछालिएका सामग्रीले कूटनीतिक मर्यादा र पत्रकारिताको मूल्य मान्यतामा आघात पुगेको फाउन्डेसनको भनाइ छ ।
फाउन्डेसनका सचिव पेम्बा लामाले आज विज्ञप्ति जारी गरी त्यस्ता दुर्नियतपूर्ण, कपोलकल्पित र आक्षेपपूर्ण समाचारको सम्बन्धमा समयमै कूटनीतिक माध्यमबाट खण्डन गर्न र आगामी दिनमा यस्ता कुप्रचार दोहोरिन नदिनका लागि कडा कदम चाल्न सरकारसँग आग्रह गरिएको छ । नेपालका आम सञ्चार माध्यमलाई नेपाल र नेपालीको स्वाभिमान, स्वाधीनता र राष्ट्रियताको पक्षमा ठोस कदम चाल्नसमेत आग्रह गरिएको छ ।