मानव अधिकार, शान्ति, लोकतन्त्र र अहिंसाका लागि क्रियाशील स्वयंसेवी संस्था मानव अधिकार तथा शान्ति समाज २५औँ वर्षमा प्रवेश गरेको छ। विसं २०५३ जेठ १९ गते स्थापित समाजले स्थापना दिवसका सन्दर्भमा आज काठमाडौँ, रुपन्देही र दाङमा प्रदर्शन गरेको छ। प्रदर्शनमा रुकुमपश्चिम घटनाको सत्यतथ्य छानबिनका लागि संसदीय समिति गठन गर, दोषीमाथि कानूनसम्मत कारवाही गर, समतामूलक समाज निर्माण गरौँ, जातीय विभेद अन्त्य गरौँ लगायत अंकित प्लेकार्ड प्रदर्शन गरिएको थियो।
काठमाडौँ शाखाद्वारा जोरपाटीमा आयोजित प्रदर्शनमा समाजका केन्द्रीय सभापति उत्तम पुडासैनीले सङ्कटका बेला झनै सक्रिय हुने गरेको शान्ति समाजविरुद्ध मानव अधिकारकै आवरणमा घृणा र विखण्डनको वकालत गर्ने केही व्यक्ति र संस्था भने सक्रिय देखिएको उल्लेख गर्दै राष्ट्रिय स्वाभिमानका पक्षमा समाजको अभियान निरन्तर रहने प्रतिबद्धता जनाए।
गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसेले नेपालको लोकतान्त्रिक आन्दोलनमा समाजले निर्वाह गरेको विशिष्ट भूमिकालाई कसैले बिर्सन नसक्ने बताए। कार्यक्रममा समाजका सल्लाहकार होमकान्त चौँलागाई, नगरपालिका वडा नं ५ का अध्यक्ष नारायण सुवेदी, समाजका कोषाध्यक्ष रामकृष्ण बराल, पूर्वमहासचिव कुमारराज सुवेदी, काठमाडौँ शाखा सभापति जगन्नाथ पुडासैनीलगायतले लोकतान्त्रिक गणतन्त्र स्थापना भए पनि सामाजिक न्याय हुन नसकेको पछिल्ला घटनालेसमेत पुष्टि गरेको बनाए।
रुपन्देही शाखाद्वारा सैनामैना नगरपालिकास्थित मुर्गियामा आयोजित प्रदर्शनमा वरिष्ठ उपसभापति गोविन्द खनालले रुकुम पश्चिम घटनामा पीडितलाई न्याय र पीडकलाई सजाय नभएसम्म अभियान निरन्तर रहने बताए। संविधानसभा सदस्य विनोद पहाडी, शान्ति समाज केन्द्रीय सदस्य कृष्ण पङ्गेनी, विभागीय संयोजक लालहरि पाण्डे, शाखा सभापति धनपति खनाल, अर्जुन ज्ञवाली, वडा नं ३ का अध्यक्ष रत्नबहादुर पाण्डे, नागरिक अभियानकर्मी नरबहादुर सुनार, नेपाल सिलाइ सङ्घका सुवास परियारले चौरजहारी घटनाका दोषीलाई कानूनी कारवाहीको दायरामा ल्याउनुपर्नेमा जोड दिए।
दाङ शाखाद्वारा तुलसीपुरमा आयोजित कार्यक्रममा समाजका महासचिव सुशील बस्नेतले रुकुम पश्चिम घटनामा कसैले समाजलाई गुमराह गर्ने गरी खेलेको न्याय विरोधी भूमिकाप्रति आपत्ति जनाए। कार्यक्रममा नागरिक अभियानकर्मी छवि परियार, शरद रेग्मी, डिल्लीराज धिताल, निर्मल नेपाली, उषा गौतमलगायतले शान्ति र सामाजिक न्यायका बारेमा प्रकाश पारेका थिए।
समाजको २५औँ स्थापना दिवसका अवसरमा सामाजिक न्यायका विषयमा केन्द्रित रही विभिन्न जिल्लामा प्रदर्शन हुने जनाइएको छ। रुकुमपश्चिम चौरजहारीमा भएको घटनामा पीडितलाई न्यायःपीडकलाई सजाय भन्ने आग्रहसहित आइतबार मोरङ शाखाको आयोजनामा विराटनगरमा, कपिलवस्तु शाखाको आयोजनामा जितपुरमा र कैलाली शाखाको आयोजनामा टीकापुरमा विरोध प्रदर्शन गरिएको सभापति पुडासैनीले जानकारी दिए।