काठमाडौं ।मुस्ताङको उत्तरी क्षेत्रमा पर्ने लोमान्थाङमा पछिल्लो २४ घण्टामा सातपटक भूकम्पको धक्का महसुस भएपछि स्थानीयवासी त्रसित बनेका छन्।
लगातारको कम्पनका कारण ऐतिहासिक तथा पर्यटकीय क्षेत्र लोमान्थाङका घर तथा संरचनामा ठूलो क्षति पुगेको गाउँपालिकाले जनाएको छ।परम्परागत रूपमा माटोबाट निर्माण गरिएका पुराना घर तथा संरचनामा भूकम्पको प्रभाव बढी देखिएको छ। गाउँपालिका अध्यक्ष टसी न्हूर्बू गुरुङका अनुसार अधिकांश घरमा चिरा परेको छ भने २० देखि ३० प्रतिशत घर पूर्ण रूपमा बस्न नमिल्ने अवस्थामा पुगेका छन्। थप करिब ५० प्रतिशत घरमा पनि उल्लेख्य क्षति पुगेको प्रारम्भिक अनुमान छ।गाउँपालिकाका अनुसार अहिलेसम्म भूकम्पका कारण मानवीय तथा पशुचौपायाको क्षति भएको छैन। तर थप पराकम्पन आएमा कमजोर बनेका संरचना भत्किन सक्ने जोखिम बढेको छ।क्षतिको यकिन विवरण संकलन गर्न गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, प्राविधिक तथा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली विभिन्न वडामा परिचालन गरिएको छ। टोलीले घर तथा संरचनाको अवस्था निरीक्षण गर्दै क्षतिको विवरण र मुचुल्का संकलन गरिरहेको जनाएको छ।गाउँपालिकाले प्रारम्भिक अवस्थाबारे जिल्ला प्रशासन कार्यालयसँगै संघ र प्रदेश सरकारलाई जानकारी गराइसकेको जनाएको छ। परम्परागत माटोका संरचनाका कारण थप भूकम्पीय धक्का आएमा क्षति अझ बढ्न सक्ने भएकाले स्थानीय तहले सतर्कता अपनाउन आग्रह गरेको छ।