बागलुङ– बागलुङ जैमिनी नगरपालिका १ र २ का किसानले ठूलो लगानी गरी केरा खेती गरेका छन्। विगतमा मौसमले साथ दिँदा राम्रो कमाइ गर्दै आएका किसान पछिल्लो समय सो खेतीले बजार पाउन छाडेपछि निराश बनेका छन्।
आम्दानी राम्रो हुने र कम जनशक्तिले समेत खेती गर्न मिल्ने भएकाले अन्नबाली मासेर लगाएको केराले बजार पाउन छाडेको स्थानीय किसान सूर्यनारायण पौडेलले गुनासो गरे। कुश्मीशेराको खौर, किसेक र टुनीवोटमा केरा खेती शुरु भएको दश वर्षभन्दा धेरै भयो।
सो खेतीबाट राम्रो आम्दानी गरेका यहाँका किसानले यस वर्षको हिउँदमा नोक्सानी बेहोर्नुपरेको थियो। यस वर्षको हिउँदमा मात्रै लाखौँको केरा बिक्री नभएर खेर गएको उनले बताएका छन्। ‘गर्मी लागे पनि केराको माग आएको छैन’, उनले भने, ‘चिसोको चार महिना बारीमै कुहिएर गए।’
डोकोभरी केरा बोकेर बजार पु¥याउन हिँडिरहने उनको दैनिकी यस वर्षको हिँउदमा कायम रहन सकेन। उनले किसानको बारीबाटै केरा उठाएर डोको भर्थे। आफ्नो बारीको केरा पनि बजार पु¥याउँथे, केही आफैँ बेच्थे। बजारै नपाएकाले उनीजस्तै धेरै किसान मर्कामा छन्।
केराको आम्दानीले दैनिक खर्च चलाउनेको सङ्ख्या गाउँमा ३० भन्दा धेरै छ। उनको तीन मुरी कोदो फल्ने बारीमा केराको बगान छ। वर्षातको समयमा मात्रै कोदो र मकै फल्ने बारीलाई सदुपयोग गरेर किसान पौडेलले वर्षमा झण्डै तीन लाख कमाएको थियो।
मकै र कोदोको मूल्य हिसाब गर्दा वर्षमा रु १८ हजार कमाइ हुन्थ्यो, रोप्ने, गोड्ने दुःख त कति हो कति उनले भने, ‘समयमा पानी र मल दिएपछि राम्रो फल्ने केराले अहिले मेरो दैनिकीनै बद्लिएको छ, तर चिसोमा केरा नबिक्दा समस्यामा परियो।’ सुक्खा रातोमाटो रहेको खौर, किसेकको डाँडामा वर्षात्को समयमा मात्रै खेती हुने गरेको थियो।
पछिल्लो समय उक्त गाउँका किसानले परम्परागत खेतीलाई परिवर्तन गरेर केरा खेती गरेका छन्। सूर्य पौडेलको जस्तै खौरका ऋषिराम शर्माले चार रोपनी बारीमा केरा खेती गरेको छ। शुरुको पहिलो वर्षमा उत्पादन दिएको केराले अहिले भने हिउँद बर्खा दुवै सिजनमा राम्रो फसल दिएकाले आफू सन्तुष्ट रहेको शर्माले बताएका छन्।
उनको पनि सूर्यको जस्तै बजारको समस्या छ। किसेकका अग्नीधर शर्मा पेशाले शिक्षक छन्। उनको चार रोपनी घरबारीमा केरा खेती छ। केराभित्र उनले कफी पनि लगाएको छन्। तीन मुरी कोदो र चार मुरी मकै फल्ने बारीमा लगाएको कफी र केराबाट शर्माले वार्षिक पाँच लाखभन्दा धेरै आम्दानी गरेको बताएका छन्।
यो गाउँमा झण्डै ४० रोपनी जग्गामा किसानले केराको खेती गरेका छन्। पकेट कार्यक्रमका लागि प्रदेश सरकार र स्थानीय जैमिनी नगरपालिकाले यो गाउँलाई अनुदान पनि दिएको छ। यस वर्ष सिँचाइका लागि प्लाष्टिक ट्याङ्की र कालो पाइप किसानलाई दिएको हो। ‘सामान्य सहयोग त पाइयो तर हाम्रो आवश्यकता बजार हो’, शर्माले भने, ‘चिसो समयको केराबाट अरु उत्पादन गर्ने वातावरण बनाइदिए हुन्थ्यो।’
किसानको मर्का बुझेको केरा पकेट समूहले यस वर्ष उत्पादनमा जोड दिएर आगामी वर्षबाट बजारको व्यवस्थापनमा लाग्ने जनाएको छ। ‘बाहिरबाट आउने केरालाई हामीले विस्थापन गर्छौं’ पकेट समूहका अध्यक्ष गोपाल आचार्यले भने, ‘चिसो मौसममा फल्ने केरा स्टोर गरेर राख्ने व्यवस्था पनि गर्नुपर्छ।’ गर्मीमा भने यहाँको केरालाई बजारको समस्या छैन।
यहाँको केरा किसानले रु ६० दर्जनमा व्यापारीलाई दिने गरेका छन्। व्यापारीले भने रु १०० देखि १२० मा बिक्री गर्छन्। खौर र किसेका किसानले एकापसमा मिलेर केराको उत्पादन गरी रहेका छन्। सिँचाइको लागि पानीको चरम समस्या रहेको उक्त ठाउँमा खानेपानीका लागि ल्याइएको पानीलाई बचाएर सिँचाइ गर्दै आएका छन्। (रासस)