कञ्चनपुर– कञ्चनपुरमा राष्ट्रिय परिचयपत्र कार्यक्रम अन्तर्गत भीमदत्त नगरपालिकाका १९ वटै वडामा राष्ट्रिय परिचयपत्र विवरण दर्ता कार्य शुरु भएको छ। विवरण दर्ताका लागि ९१ विवरण दर्ता अपरेटर छनोट गरी परिचालन गरिएको छ।
सहायक प्रमुख जिल्ला अधिकारी गोर्कणप्रसाद उपाध्यायका अनुसार १९ वटा घुम्ती केन्द्र मार्फत राष्ट्रिय परिचयपत्र विवरण दर्ताको कार्य सञ्चालन गरिएको छ। जिल्लामा परिचयपत्रका लागि एक लाख ९८ हजार नागरिकको विवरण दर्ता गर्ने लक्ष्य लिइएको छ।
‘हालसम्म जिल्लामा १० हजार २६५ जनाको राष्ट्रिय परिचयपत्रको विवरण दर्ता भई एक हजार ६०० बायोमेट्रिक स्मार्टकार्ड कार्यालयमा प्राप्त भएको छ’ सहायक प्रजिअ उपाध्यायले भने।
भीमदत्त नगरपालिका–१८ बाट विवरण दर्ता अभियानको शुभारम्भ गरिएको छ। जेष्ठ नागरिक ८४ वर्षीय खिमानन्द कँडेल, ७२ वर्षीय नन्दादेवी पाण्डेय र निजामती कर्मचारी मानबहादुर बोहरालाई परिचयपत्र हस्तान्तरण गरी शुभारम्भ गरिएको छ।
प्रमुख जिल्ला अधिकारी नूरहरि खतिवडा, भीमदत्त नगरपालिकाका प्रमुख सुरेन्द्र बिष्ट, राष्ट्रिय परिचयपत्र विभागका महानिर्देशक जीतेन्द्र बस्नेत र निर्देशकद्वय शिवराज जोशी र सुवास ढकालले संयुक्त रुपमा परिचयपत्र हस्तान्तरण गरी कार्यक्रमको शुभारम्भ गरेको थियो। रासस