बैतडी– यहाँ जारी बिडिसिए कप टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको सुपर सिक्समा पुग्ने तीन टोलीको टुङ्गो लागेको छ। लिग चरणका खेलबाट पाटन भ्याली क्रिकेट क्लब, वासुलिङ क्रिकेट क्लब र पञ्चकोटी क्रिकेट क्लब सुपर सिक्समा पुगेका हुन्।
निंगलाशैनी खेल मैदानमा सम्पन्न खेलमा भ्यालीले महामाया क्रिकेट क्लबलार्ई ४६ रनले हराएको हो। टस जितेर ब्याटिङ गरेको भ्याली २० ओभरमा १८३ रनमा समेटियो। उसका लागि राहुल भण्डारीले ४७ रन बनाए। महामायाका लागी जयसिंह टोक्टरेले चार विकेट लिए। जवाफी ब्याटिङ गरेको महामायाले २० ओभरमा १३८ रन मात्रै बनाउन सक्यो। उसका लागि सन्तोष बिजलेको ३७ रन बनाए। भ्यालीका पारस विष्टले तीन तथा राहुल भण्डारीले दुई विकेट लिए। राहुल म्यान अफ द म्याच घोषित भएको स्कोरर दीपेन्द्रबहादुर बोहराले जानकारी दिएका छन्।
अर्को खेलमा असिमकेदार क्रिकेट क्लबमाथि १४८ रनको जित हात पार्दै वासुलिङ सुपर सिक्समा पुगको हो। पहिला ब्याटिङ गरेको वासुलिङले तीन विकेट क्षतिमा २०० रन बनायो। उसका लागि सुरेन्द्र ऐरीले सवाधिक ५३ रन बनाए। असिमकेदारका चक्र बडुले एक विकेट लिए। दुई सय एक रनको लक्ष्य पछ्याएको असिमकेदार ५२ रनमा समेटियो। वासुलिङका महेश ऐरीले चार विकेट लिए। उनी म्यान अफ द म्याच घोषित भए।
यस्तै बुड्डाबाजे क्रिकेट मैदानमा सम्पन्न खेलमा त्रिपुरा सुन्दरी क्रिकेट क्लबलाई ५० रनले पाखा लगाउँदै पञ्चकोटी सुपर सिक्समा प्रवेश गयो्। पहिला ब्याटिङ गरेको पञ्चकोटीले डम्बर बुडालको ७२ रनको मद्दतमा चार विकेट गुमाउँदै १६६ रन बनायो। त्रिपुराका वीरेन्द्र रानाले दुई विकेट लिए।
एक सय ६७ रनको विजय लक्ष्यका साथ मैदानमा उत्रेको त्रिपुरा १६ ओभरमा ११६ रनमा सीमित रह्यो। उसका लागि लोकेन्द्र थापाले ३२ रन जोडे। पञ्चकोटीका जीवन बुडालले चार तथा दिनेश बुडालले तीन विकेट लिए। बुडाल म्यान अफ द म्याच घोषित भएको जिल्ला क्रिकेट संघका कोषाध्यक्ष खेमराज भट्टले बताएका छन्। जिल्ला क्रिकेट संघको आयोजनामा मङिसर ५ गतेदेखि शुरु भएको उक्त प्रतियोगितामा जिल्लाका २० टोली सहभागी छन्।
रासस