एजेन्सी–भारतमा सम्पन्न अन्तराष्ट्रिय कम्ब्याट च्याम्पियनसिपमा नेपाली तेक्वान्दो टिम उपविजेता बनेको छ। भारतको दिल्लीमा आइतबार सम्पन्न च्याम्पियनसिपमा ५ स्वर्ण, १० रजत र २ कास्य गरि कुल १७ पदक जित्दै नेपाल उपविजेता बनेको हो। भारतीय टोली प्रतियोगिताको च्याम्पियन बनेको प्राविधिक सल्लाहकार तथा नेपाली टिमका प्रशिक्षक दिनेश शर्माले बताए। नेपाल राष्ट्रिय मार्सल आर्ट्स महासंघ मार्फत च्याम्पियनसिपमा सहभागिता जनाएका नेपालका राजेश बस्नेतले स्पाईरिङ र प्याट्रन विधामा एक एक स्वर्ण जिते।
त्यसैगरी, रोप स्किपिङ र जापानिज फममा उनले एक एक रजत जिते। राज कुमार दराईले प्याट्रनमा स्वर्ण जित्दा स्पाईरिङ,रोप स्किपिङ र जापानिज फममा एक एक रजत जितेका छन्। जनक राज गौतमले स्पाईरिङमा स्वर्ण जित्दा प्याट्रनमा रजत हात पारे। यस्तै शिवराज देवकोटाले स्पाईरिङमा रजत जितेका छन् भने विशाल शाह र विकास श्रेष्ठले एक एक कास्य जिते।
यस्तै प्रतियोगितामा नेपालका प्रशिक्षक शर्मालाई आउटस्टान्डिङ इन्स्ट्रक्टर अवार्ड प्रदान गरिएको थियो। नेपाल राष्ट्रिय मार्सल आर्ट्स महासंघका महासचिब समेत रहेका शर्मालाई दक्षिण एसियामा तेक्वान्दो मार्शल आर्ट्सको विकास, विस्तार, प्रचार एवंम प्रवर्दनमा उलेख्य योगदान पुर्याएको कारण अवार्ड प्रदान गरिएको हो। जुन नेपाली खेलाडीका लागि ठूलो गौरवको कुरा हो।