वीरगञ्ज– अवैध शुल्क फिर्ता पाउनुपर्ने माग राख्दै धर्नामा बसेका विद्यार्थीमाथि नेशलन मेडिकल कलेजले कुटपिट गरेको छ। शुक्रबार दोस्रो दिन धर्नामा बसेका उनीहरुलाई कलेज प्रशासनले दमन गर्ने प्रयास गरेको हो।
कलेज प्रशासनका कर्मचारीले छात्राहरुमाथि दुव्र्यवहार समेत गरेको विद्यार्थीले आरोप लगाएका छन्। प्रहरीको सुरक्षा घेरामै विद्यार्थीमाथि कलेजबाट दुर्व्यवहार भएको उनले बताए। यो घटना भएपछि विद्यार्थीले सुरक्षाको माग राख्दै प्रहरीमा पुगेका थिए। उनीहरू राति साढे १२ बजेसम्म प्रहरीमा बसेका थिए।
शुक्रबार राति कलेजविरुद्ध प्रहरीले उजुरी लिन नमानेको विद्यार्थीले बताएका छन्। प्रहरी प्रशासनले धेरै राति भएको भन्दै विनेदन लिन नमानेको हो। विद्यार्थीले साँझ ५ बजेसम्म कलेज हातामा धर्ना दिएका थिए। मेडिकल कलेजले गैरकानुनी शुल्क उठाएको बिरोधमा धर्नामा बसेका विद्यार्थीलाई नेसनल मेडिकल कलेज वीरगन्जले बिहीबार छ घन्टा होस्टल बस्न रोक लगाएको थियो।
आक्रमणको आरोप अस्विकार गर्दै कलेजका सञ्चालक बसरुद्दिन अन्सारीले धर्नाका क्रममा विद्यार्थीसँग भनाभन मात्र भएको बताएका छन्। नेसनल मेडिकल कलेजले सरकारले तोकेभन्दा झन्डै छ लाख शुल्क उठाएपछि विद्यार्थीहरू आन्दोलन गरिरहेका छन्। शिक्षा मन्त्रालयले केही दिनअघि बढी उठाइएको शुल्क फिर्ता गर्न मेडिकल कलेजहरूलाई निर्देशनसहित कारबाहीको चेतावनी दिएको थियो।
सरकारले राजधानीबाहिरका मेडिकल कलेजमा एमबिबिएस अध्ययनका लागि ४२ लाख ५० हजार रुपैयाँ शुल्क तोकेको छ। तर, उक्त मेडिकल कलेजले एमबिबिएस पहिलो वर्षका विद्यार्थीबाट ५५ लाख रुपैयाँसम्म शुल्क उठाएको विद्यार्थी बताउँछन्।
त्यस्तै उक्त कलेजले होस्टल शुल्क, खाना, रजिष्ट्रेसन, ट्युसनलगायत भन्दै जथाभावी शुल्क उठाइरहेको र शुल्क नबुझाए परीक्षामा समस्या आउने भनेपछि भनेबमोजिम शुल्क बुझाउन बाध्य भएको विद्यार्थीहरूको गुनासो छ।