सोलुखुम्बु– सोलुखुम्बु जिल्लाका विभिन्न महत्वपूर्ण क्षेत्रमा रहेको लाखौँ रोपनी सरकारी जग्गालाई व्यक्तिको नाममा दर्ता गरेको पाइएको छ। करौडौँ मूल्य पर्ने सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गर्न राजनीतिक दलका स्थानीय नेता र समाजका प्रतिष्ठित व्यक्ति नै लागिपरेको तथ्य खुलेको हो।
मालपोत कार्यालयको दर्ता पुस्तिका (ढड्डा) मै किर्ते (केरमेट) गरी सरकारी जग्गालाई व्यक्तिको नाममा दर्ता गरेकाविरुद्ध जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुमा बुधबार उजुरीसमेत दर्ता गरिएको छ। साविक जुभिङ गाविस–५ को पर्यटकीय रुटमा पर्ने नेपाल सरकारको नाममा रहेको कित्ता नं ५ सय ७९ को दुई लाख ९८ हजार २ सय ३० वर्ग्मिटर, कित्ता नं ५ सय ८१ को तीन लाख ९८ हजार ५ सय ६० वर्ग्मिटर जङ्गललाई स्थानीय बुधमाया थापामगरको नाममा कित्ताकाट गरी दर्ता गरिएको संलग्न प्रमाणमा उल्लेख गरिएको छ।
वि.सं. २०५८ साउन ३१ गते कित्ता नं ५ सय ७९ कित्ताकाट हुँदा ६ सय २० नयाँ कित्ता कायम भई तीन हजार एक सय वर्गमिटर सरकारी जग्गा व्यक्तिको नाममा दर्ता भएको जिल्ला नापी कार्यालयको फिल्डबुकमा उल्लेख गरिएको छ ।
यस्तै सोही मितिमा कित्ता नं ५ सय ८१ बाट कित्ताकाट भई दुई हजार ५ सय वर्ग्मिटर जग्गा बुधमाया थापामगरकै नाममा दर्ता गरिएको छ। विसं २०७१ कात्तिक ७ गतेका दिन उक्त जग्गा कित्ताकाट गरी विभिन्न व्यक्तिलाई बिक्रीसमेत गरिएको छ। करीब रु दुई करोड मूल्यको उक्त जग्गा प्रकरणमा बुधमाया थापामगर, प्रेमबहादुर थापामागर र रामकृष्ण थापामगरसमेतको नाम जोडिएको छ। प्रेमबहादुर थापामगर नेपाली काङ्ग्रेसका जिल्ला नेता हुन् ।
यस्तै साविक चौरीखर्क गाविस–८ स्थित तेञ्जिङ हिलारी विमानस्थल नजिकैको ४ सय १९ कित्ता नम्बरको जग्गासमेत व्यक्तिको नाममा दर्ता गरिएको रहस्य खुलेको छ। बिरह ढडेन साविक सोताङ–३ घर भई हाल चौरीखर्क–८ बस्ने सुवोध नेपाली र मनमाया नेपालीको नाममा ७६५७.५ वर्ग्मिटर सरकारी जग्गा दर्ता भएको उजुरीमा उल्लेख छ।
नापी कार्यालयको तथ्याङ्कअनुसार विसं २०६९ मङ्सिर १८ गते कित्ताकाट गरी सुवोध नेपालीको नाममा कित्ता नं ८ सय ३३ कायम गरी १०४७.४८ वर्ग्मिटर जग्गा दर्ता गरिएको छ भने ८ सय ३४ कित्ता नं कायम गरी ६६२० वर्ग्मिटरको जग्गा कृष्णबहादुर नेपालीको श्रीमती मनमाया नेपालीको नाममा दर्ता गरिएको छ । सूचनाकर्ता वीरउदास श्रेष्ठले निवेदनमा उल्लेख गरेअनुसार उक्त जग्गाको मूल्य करीब रु तीन करोड रहेको छ।
यस्तै साविक चौरीखर्क–१ स्थित नेपाल सरकारको नाममा रहेको कित्ता नं ११६ को आठ लाख ३० हजार ८ सय ५० वर्ग्मिटरको जङ्गलसमेत व्यक्तिको नाममा दर्ता गरिएको पाइएको छ। साविक चौरीखर्क–२ बस्ने दावानुर्वु शेर्पाले विसं २०७० साउन १८ गते तीन वटा कित्ता ४ सय ५९, ४ सय ६० र ४ सय ६१ मा क्षेत्रफल क्रमशः चार हजार १ सय ५०, १४ हजार १ सय र १५ हजार ५ सय ३० वर्ग्मिटरको जग्गा आफ्नो नाममा दर्ता गरेको जिल्ला नापी कार्यालयको तथ्याङ्कमा उल्लेख छ।
अन्दाजी रु चार करोड पर्ने उक्त सरकारी जग्गा मालपोतका तत्कालीन प्रमुखलगायतले बदनियतपूर्ण तरिकाले पदको दुरुपयोग गरी व्यक्तिको नाममा दर्ता गरेको भन्दै छानबिन गरी कानूनअनुसार कारवाही गर्न सूचनाकर्ता वीरउदास श्रेष्ठले अख्तियारसमक्ष माग गरेका छन्।
जिल्लाका तीनै जना सांसद र सञ्चारमाध्यमलाई समेत बोधार्थ दिइएको उक्त निवेदन बुधबार नै जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको प्रमुख जिल्ला अधिकारी बेदनिधि खनालले जानकारी दिए। उनले निवेदन दर्ता भएको भन्दै छानबिन गरी कारवाही प्रक्रिया अगाडि बढाउने बताए।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको भाग ४ को सूचना १ बमोजिम प्रमुख जिल्ला अधिकारीको कार्यक्षेत्रभित्र पर्ने भएकाले उक्त उजुरी दर्ता गरिएको सूचनाकर्ता श्रेष्ठले बताए। सरकारी जग्गालाई व्यक्तिकोमा जान हामी दिंदैनौं”, उनले भने, “कानूनी उपचारका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता गराएका छौं।”
सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गरिएको प्रक्रियाबारे अनुसन्धान गरी दोषीउपर कारबाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरीका आधारमा आवश्यक छानविनका लागि मालपोत कार्यालयसंग दर्ता प्रक्रियाबारे जानकारी माग्ने प्रमुख जिल्ला अधिकारी बेदनिधि खनालले बताए।
दर्ता गर्न मिल्ने वा नमिल्ने कानुनी आधार, उक्त जग्गा साबिकमा सरकारी, सार्वजनिक वा नीजि कुन प्रकृतिको रहेको तथा कुन प्रक्रियाबाट दर्ता भएको लगायतका विषयमा आवश्यक छानविन गरेपछि मात्र सत्यतथ्य वाहिर आउने जिल्ला प्रशासन कार्यालयले जनाएको छ। (रासस)