कोलम्बो, १५ माघ –श्रीलङ्कामा डेंगुका कारण दुई जनाको मृत्यु हुनुका साथै तीन हजार ७०० भन्दा बढी प्रभावित भएका छन्। यही जनवरीको पहिलो तीन हप्तामा देशभरी फैलिएको डेंगुबाट प्रभावितहरुको विवरण अधिकारीहरुले मंगलबार सार्वजनिक गरेका हुन्।
इपिडिमियोलोजी इकाईले गत शुक्रबारसम्ममा तीन हजार ७४३ जनामा डेंगुको सङ्क्रमण देखिएको जनाएको छ। प्रभावितमध्ये सबैभन्दा धेरै राजधानी कोलम्बोका भेटिएका छन्। त्यसपछि जाफ्ना र गम्पाहमा धेरै बिरामी रहेको अधिकारीहरुले बताएका छन्।
स्वास्थ्यकर्मीहरुले प्रभावितलाई तत्काल औषधी उपचारको आवश्यकता रहेकोतर्फ ध्यानाकर्षण गराएका छन्। बिरामीहरुमा उच्च ज्वरो आउने, लगातार बान्ता हुने, पेट दुख्ने, चक्कर लाग्ने, पिसाब बन्द हुनेलगायतका समस्या देखिने गरेको चिकित्सकहरुले बताएका छन्।
यस रोगबाट प्रभावित सबै बिरामीहरुलाई आरामको आवश्यकता हुने भएकाले उनीहरुलाई काम र विद्यालयहरुबाट छुटकारा दिनुपर्ने चिकित्सकहरुको भनाई छ। श्रीलङ्कामा डेंगुका कारण गत बर्ष पनि ५० भन्दा बढीको मृत्यु भएको थियो भने ४८ हजार भन्दा बढी प्रभावित भएका थिए।(रासस)