विराटनगर– घुस रकम लिँदै गर्दा मोरङको जहदा गाउँपालिका–१ का कार्यवाहक वडा अध्यक्ष उमेशकुमार साह रंगेहात पक्राउ परेका छन्। मंगलबार सडक स्तरोन्नत्तीका लागि ठेक्का दिन घुस मागेका साह घुसबापतको २१ हजार नगदसहित मंगलबार पक्राउ परेका हुन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलीले साहलाई वडा कार्यालय भित्रैबाट रंगेहात पक्राउ गरेको हो। उनले दुई लाख रुपैयाँको योजना ठेक्का दिनका लागि ठेकेदारसँग २१ हजार घुस मागेका थिए। घुस मागेको उजुरी परेपछि साहलाई रंगेहात पक्राउ गरेको अख्तियार दुरुपायोग अनुसन्धान आयोग इटहरीका प्रवक्ता ज्ञानेन्द्रप्रसाद ढकालले बताए।