एजेन्सी– यु–१९ च्यालेन्जर सिरिज अन्तर्गत दोस्रो खेलमा नेपाल यु–१९ क्रिकेट टोली भारत ‘बी’सँग पराजित भएको छ। शुक्रबार भएको खेलमा नेपाली युवा टोली २ विकेटले पराजित भएको हो।
नेपालले दिएको २ सय ११ रनको विजयी लक्ष्य भारत बी टिमले ४६.३ ओभरमा ८ विकेट गुमाउँदै पूरा गर्याे।भारतको जितमा दिव्यांश जोशिले आक्रामक ब्याटिङ गर्दै अर्धशतक बनाए। उनले ३७ बलमा ४ चौका र ४ छक्काको मद्धतमा ५४ रन बनाए। अर्का ब्याट्सम्यान क्रुथिक कृष्णले ७५ बलमा ३९ रन, हर्ष राजेशले ४८ बलमा २९ रन तथा सागर सुरेन्दरले २८ रनको योगदान दिए।
नेपालको बलिङमा आकाश चन्दले ४ विकेट लिए। उनले ८ ओभरमा ४१ रन दिएका थिए। सागर ढकालले २ तथा कुशल मल्ल र शेर मल्लले समान १–१ विकेट लिए।
त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले ४९.५ ओभरमा अलआउट हुँदै २ सय १० रन बनाएको थियो। त्यससँगै भारत बीले २ सय ११ रनको विजयी लक्ष्य पाएको थियो। । नेपालको पारीमा कप्तान रित गौतमले विष्फोटक ब्याटिङ गरे। उनले ९३ बलको सामना गर्दै १२ चौका र १ छक्काको मद्धतमा ८४ रन बनाए। त्यस्तै शेर मल्लले ३३ रन, हरिबहादुर चौहानले २० रन, आकाश चन्दले १८ रन बनाए।
भारत बीको बलिङमा दिव्यांश जोशीले ९.५ ओभरमा ५४ रन खर्चिँदै ३ विकेट लिए भने अथर्व विनोदले ६ ओभरमा १२ रन दिएर २ विकेट लिए। नेपालको प्लेइङ ११ मा कप्प्तान रित गौतमसँगै लोकेश बम, खडक बहादुर बोहोरा, हरि बहादुर चौहान, अरुण ऐरी, कुशल मल्ल, प्रतिस जिसी, शेर मल्ल, आकश चन्द, सागर ढकाल र तिलक राज भण्डारी रहेका छन्।