एजेन्सी– पोर्चुगलका कप्तान तथा फरवार्ड क्रिस्टियानो रोनाल्डोको शनसनीपूर्ण ह्याट्रिकमा पोर्चुगलले लिथुआनियामाथि फराकिलो जित निकालेको छ। युरो कप छनोट अन्तर्गत समूह ‘बी’ को खेलमा पोर्चुगलले लिथुआनियालाई ६–० गोलले हराएको हो।
शुक्रबार राति भएको खेलमा पोर्चुगल सातौं मिनेटमा पेनाल्टीमार्फत अग्रता बनाएको थियो। लिथुआनियाका सौलिउस मिकोलिउनासले रोनाल्डोलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि पाएको पेनाल्टीमा रोनाल्डोले गोल गरेका थिए। खेलको २३ औं मिनेटमा रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गर्दा पोर्चुगलले अग्रता दोब्बर बनायो। रोनाल्डोले झन्डै २५ मिटर टाढाबाट गोल गरेका थिए।
दोस्रो हाफको ५२ औं मिनेटमा पिज्जीले गोल गर्दै अग्रता तेब्बर बनाए भने त्यसको चार मिनेटपछि नै प्यासीएन्सियाले गोल गर्दा पोर्चुगलले ४–० को अग्रता बनाएको थियो। लिथुआनियामाथि हाबी भएको पोर्चुगलको गोल गर्ने क्रम रोकिएन।
६३ औं मिनेटमा बर्नार्डो सिल्भाले गोल गर्दै पोर्चुगललाई ५–० को स्थितिमा पु¥याए। त्यसको २ मिनेटपछि नै रोनाल्डोले गोल गर्दै आफ्नो ह्याट्रिक पूरा गरे। उनले सिल्भाको पासलाई गोलमा परिणत गर्दै करीअरको ५५ औं ह्याट्रिक पूरा गरेका हुन्।
जितसँगै पोर्चुगल ७ खेलमा १४ अंक बोकेर अंक तालिकाको दोस्रो स्थानमा रहेको छ। समूह ‘बी’ को शीर्षस्थानमा रहेको युक्रेन १९ अंकसहित युरोको लागि छनोट भइसकेको छ। पोर्चुगलले आइतबार हुने खेलमा लक्जेमबर्गलाई पराजित गरे छनोट पक्का गर्नेछ।