एजेन्सी– विगत तीन दिनयता अष्ट्रेलियामा डढेलो फैलिरहेको छ। सो डढेलो नियन्त्रण हुन नसक्दा सिड्नीसम्म फैलिएको छ। मङ्गलबार न्यू साउथ वेल्समा मात्रै ६० बढी स्थानमा भीषण आगलागी भएको छ।
अधिकारीले हाल अष्ट्रेलियामा तापक्रम बढ्दो छ र हावाको बेग पनि उच्च भएकोले ढडेलो निकै कम समयमा फैलिने चेतावनी दिएका छन्। यो क्षेत्रमा करिब ६० लाख मानिसको बसोबास छ। सरकारले अति संवेदनशील क्षेत्रका बासिन्दालाई झाडीयुक्त स्थानमा नबस्न र आगलागी आफ्नो घरसम्म आइनपुग्दै अन्यत्र सर्न आग्रह गरेको छ। उक्त राज्यका ६ सय विद्यालय बन्द गरिएका छन्।
गत शुक्रबारदेखि फैलिएको आगोका कारण न्यू साउथ वेल्स र क्वीन्सल्याण्डमा तीनजनाको मृत्यु भएको छ भने दुई सयभन्दा घरहरुमा क्षति पुगेको छ। सिड्नी र उक्त शहरको उत्तरी र दक्षिणी भेगमा यस्तो ‘भयानक’ स्तरको आगलागी भएको यो पहिलो घटना हो।
अधिकारीले न्यू साउथ वेल्समा मङ्गलबार ‘चरम, गम्भीर र विनाशकारी’ दिन हुनसक्ने चेतावनी दिँदै तापक्रम ३७ डिग्री सेटिग्रेटसम्म बढ्न सक्ने जानकारी दिएको छ।तत्कालका लागि क्वीन्सल्याण्डमा आगलागीको खतरा कम रहेपनि हप्ताको अन्तिममा खतरा उच्च रहने चेतावनी जारी गरेको छ। मङ्गलबार दक्षिणी अष्ट्रेलियामा पनि दर्जनौँ आगलागीको घटना देखिएका छन्।