एजेन्सी– एभिसी सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपमा नेपालले आज (मंगलबार) आफ्नो तेस्रो खेल खेल्दैछ। उपाधि दाबेदार नेपालले बंगलादेशविरुद्ध उसैको घरमा प्रतिस्पर्धा गर्दैछ।
खेल नेपाली समयअनुसार ढाकाको शहीद सुहरावर्दी ईन्डोर स्टेडियममा १२ः४५ मा शुरु हुनेछ। यसअघि दुबै खेलमा विजयी भएको नेपाल घरेलु टोलीविरुद्ध उच्च मनोबलका साथ मैदान उत्रने तयारीमा छ। नेपालले पहिलो खेलमा अफगानिस्तान र दोस्रा खेलमा कीर्गिस्तानलाई सोझो सेटमा हराएको थियो।
आजको खेलमा बंगलादेशलाई पराजित गर्दै नेपाल फाइनल यात्रा बलियो बनाउने सोचमा छ। नेपालका मुख्य प्रशिक्षक जगदीश भट्टले प्रतियोगितामा खेलाडीले उत्कृष्ट प्रदर्शन गरिरहेको कारण नेपालले उपाधि जित्ने विश्वाश व्यक्त गरेका छन्। नेपालको उपाधि यात्रामा माल्दिभ्स तगारो बन्न सक्ने बताइएको छ।
माल्दिभ्सलेपनि आफूले खेलेका तीनै खेलमा जित निकाल्दै उपाधिमा दाबेदारी जनाइसकेको छ। नेपालले लिग चरणको अन्तिम खेलमा भोली (बुधबार) माल्दिभ्ससंग खेल्नेछ। राउण्ड रोबिन लिगको शीर्ष दुई टिमले फाईनल खेल्नेछन्। बंगलादेश भलिबल संघले आयोजना गरेको प्रतियोगितामा नेपाल सहित पाँच राष्ट्र सहभागी छन्।