काठमाडौं– भारतीय नक्सामा नेपाली भूमि समेटिएको बिरोधमा प्रदर्शन गरेपछि पक्राउ परेका विप्लव समूहका २० जनामा वसुन्धरा विष्फोटका आरोपित पनि परेका छन्।
आइतबार माइतीघरमा प्रहरीले विद्यार्थीको नाममा आयोजित आन्दोलनमा प्रतिबन्धित विप्लव समूहका कार्यकर्तालाई पनि घुसपैठ गराइएको भन्दै २० जना नेता, कार्यकर्तालाई समेत पक्राउ गरेकाे थियाे। अछामको पञ्चदेवल गाउँपालिका–२ का छत्र कार्की वसुन्धारा विष्फोट प्रकरणका फरार प्रतिवादी पक्राउ परेकाे बताइएकाे छ।
यसअघि १३ जेठमा समूहले आह्वान गरेको नेपाल बन्दको पूर्वसन्ध्यामा अनामनगर र वसुन्धारामा भएको ‘आत्मघाती’ विष्फोटमा परेर पार्टीकै ४ जना मारिएका थिए। विभुराम भनिने दिपेश विक, गोकुल राना मगर, निरन्तर मल्ल र प्रज्वल शाही ज्यान गुमाउनेमा परेका थिए।
२० कात्तिकमा प्रेस विज्ञप्ति जारी गर्दै भारतले गरेको नेपालमाथिको हस्तक्षेपको विरोध गर्ने पार्टी महासचिव विप्लवल जनाएका थिए। पूर्वघोषित कार्यतालिका अनुसार आइतबार माइतीघरमा विप्लव समूहले विरोध प्रदर्शन कार्यक्रम राखेका थिए।
विप्लव नेतृत्वको नेकपाको गतिविधिमाथि २८ फागनु २०७५ मा प्रतिबन्ध लगाउने निर्णय सरकारले गरेको थियो। त्यसयता पहिलो पटक विप्लव समूहका कार्यकर्ता सार्वजनिक कार्यक्रममा देखिएका हुन्।