एजेन्सी– इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलसँग म्यानचेस्टर सिटी पराजित भएको छ। आइतबार राति भएको खेलमा लिभरपुलले सिटीलाई ३–१ गोलले स्तब्ध पारेको हो।
घरेलु मैदानमा भएको खेलमा लिभरपुललाई जिताउन फाविन्हो, मोहम्मद सलाह र साडियो मानेले गोल गरेका थिए। सिटीको तर्फबाट बर्नाडो सिल्भाले एक गोल फर्काए। लिभरपुलका लागि फाविन्होले खेलको छैटौं मिनेटमा नै गोल गर्दै शुरुवाती अग्रता दिलाएका थिए। खेलको १३ औं मिनेटमा मोहम्मद सलाहले हेडमार्फत गोल गर्दै अग्रता दोब्ब्र बनाए। उनले एन्ड्रिउ रोबर्टसनको पासमा गोल गरेका थिए।
पहिलो हाफमा २ गोलले अगाडि रहको लिभरपुलले दोस्रो हाफमा थप एक गोल गरेको थियो भने सिटीले पनि एक गोल फर्काएको थियो। ५१ औं मिनेटमा साडियो मानेले जोर्डन हेन्डरसनको क्रस पासमा पावरफुल हेडर गोल गरेपछि लिभरपुलले खेलमा ३–० को आरामदायी अग्रता लियो। ७८ औं मिनेटमा बर्नार्डाे सिल्भाले गोल गर्दै सिटीलाई खेलमा फर्काउने संकेत दिएका थिए। त्यसपछि पनि सिटीले केही सुन्दर मौका सदुपयोग गर्न नसक्दा सिटीले नमिठो हार बेहारेको हो।
जितसँगै प्रिमियर लिगमा अपराजित रहेको लिभरपुलले १२ खेलबाट ३४ अंक जोडेको छ। दोस्रो स्थानको लेस्टर सिटीको समान खेलबाट २६ अंक छ। २६ अंक नै रहेको चेल्सी तेस्रो तथा २५ अंक जोडेको म्यानचेस्टर सिटी चौथो स्थानमा छ।