काठमाडौं– नेपाली साहसिक पर्यटकीय गतिविधिको विश्वभर प्रवर्द्धन गर्ने उद्देश्यले एभरेष्ट ट्रेल रेसको ८ औं संस्करण सोमबारबाट शुरु हुने भएको छ। कूल १ सय ७२ किलोमिटर लामो यो दौडमा १२ मुलुकका ४२ जना विदेशी र तीनजना स्वदेशी धावक सहभागी हुने छन्।
पर्यटन वर्ष २०११ बाट एभरेष्ट ट्रेल रेस शुरु भएको हो। अन्नपूर्ण ट्रेक्स एन्ड एक्पिसडिसन र स्पेनको ग्रन्स स्पाइस नामक कम्पनीले संयुक्त रुपमा यो प्रतियोगिता आयोजना गर्दै आएका छन्। नवौं संस्करणको रेस ११ नोभेम्बरबाट शुरु भई १८ नोभेम्बरमा सम्पन्न हुनेछ।
अन्नपूर्ण ट्रेक्स एण्ड एक्पिसडिशन प्रालिका कार्यकारी निर्देशक कामी शेर्पाको अनुसार रेसमा नेपाल, स्पेन, अर्जे्न्टिना, फ्रान्स, दक्षिण अफ्रिका, मेक्सिको, बेल्जियम, इंल्याण्ड, ब्राजिल, अल्जेरिया, नर्वे, भियतनामलगायत मुलुकका धावक सहभागी हुने छन्।
विगतमा यो दौड दोलखा जिल्लाको साविक जिरी बजारबाट शुरु भई रामेछापको बाम्ती भण्डार, सोलुखुम्बु जिल्लाको गोली, पिके डाँडा, जुनबेसी, टाक्सीन्दु, खरीखोला, लुक्ला, नाम्चे, त्याङबोचे हुँदै पासाङल्हामु गाउँपालिकाको लुक्लामै फर्किएर समापन हुन्थ्यो। यसपटक दौडको साविक रुट परिवर्तन गरि नयाँ रुटमा दौड हुँदैछ।
सोलुखुम्बु जिल्लाको धापपत्ताले हुँदै च्याङ्स्यार, खोर्या, दिम्स्यास, पिके डाँडाको (च्यावीपिके र गोले पिके), लाम्जुरा, जुन्बेसी, फुङमोचे, तोङगीनाशा, टाक्सीन्दु, यावागोन्पा, जुबिङ फेदी, खरीखोला, नाम्चे, खुम्जुङ, फोर्चे, पाङबोचे, त्याङबोचे हुँदै प्रतिस्पर्धाको समापन बिन्दु लुक्ला तोकिएको छ।