काठमाडौं– एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिपको आफ्नो पहिलो खेलमा नेपालले अफगानस्तानसँग प्रतिस्पर्धा गर्दैछ। खेल बंगलादेशको ढाकास्थित शहीद सुहरावर्दी ईन्डोर स्टेडियममा नेपाली समय अनुसार १२ः४५ मा शुरु हुनेछ।
नेपाली महिला भलिबल टोली १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागको तयारीका लागि जुटिरहेको छ। यसअघि २३ दिनसम्म थाईल्याण्डमा प्रशिक्षण गरेको टोलीले बलियो टिमसंग मैत्रीपूर्ण भलिबल खेलिसकेको छ।
पहिलो संस्करणको एभिसी सेन्ट्रल जोनमा नेपाल स्वर्णपदक हात पार्ने दाउमा छ। प्रतियोगितामा बलियो टोलीहरु रहेपनि उपाधि हात पार्ने लक्ष्य रहेको कप्तान अरुणा शाहीले जानकारी दिएकी छिन्। प्रतियोगितामा नेपाल सहित कीर्गिस्तान, बंगलादेश, माल्दिभ्स र अफगानिस्तान सहभागि भएका छन्।
नेपाली टिममा कप्तान अरुणा शाहीसहित प्रतिभा माली, सरस्वती चौधरी, निरुता ठगुन्ना, रेश्मा भण्डारी, पुनम चन्द, जानकी भण्डारी, सुनिता खड्का, सोफिया पुन, उषा कुमारी बिष्ट, कमला पुन, सलिना श्रेष्ठ रहेका छन्।