एजेन्सी– बिहार सरकारलाई भारतको सर्वोच्च अदालतले नेपालको गेस्ट हाउसमा महिलासँग आपत्तिजनक अवस्थामा पक्राउ परेका तल्लो अदालतका तीन न्यायाधीशलाई निलम्बन गर्ने अनुमति दिएको छ।
शुक्रबार सर्वोच्च अदालतले कोमल राम, जीतेन्द्रनाथ सिंह र हरिनिवास गुप्ता नाम गरेका न्यायाधीशलाई निलम्बन गर्ने अनुमति दिएको हो।
सन् २०१३ मा छापा मार्ने क्रममा उनीहरू नेपालको एक गेस्ट हाउसमा महिलासँग आपत्तिजनक अवस्थामा पक्राउ परेका थिए। नेपाल प्रहरीले ती तीनै जना न्यायाधीश भएको थाहा पाएपछि उनीहरूलाई छाडिदिएको थियो।
तर पनि उनीहरू भारतमा छानविनमा परिरहेका थिए। नेपालको एक स्थानिय दैनिकले उनीहरू पक्राउ परेको खबर छापेको थियो। त्यसपछि पटना उच्च अदालतले उनीहरु विरूद्ध छानबिन गरेको थियो। त्यतिबेला उनीहरूले नेपालमा नभइ भारतमा पक्राउ परेको दाबी गरेका थिए।
भारतमा भएको छानबिनमा उनीहरू तीनै जनाको मोबाइलमा आफ्नो कार्यक्षेत्रमा नभई विराटनगर नजिकको भारतीय शहर फारबेसगन्ज को टावर देखिएको थियो।