एजेन्सी– सन् २०२० को अमेरिकी राष्ट्रपतीय निर्वाचनमा संयुक्तराज्य अमेरिकाको न्यूयोर्क शहरका पूर्व मेयर माइकल ब्लूमबर्ग डेमोक्रेटिक पार्टीका तर्फबाट उम्मेदवार बन्ने तयारीमा छन्।
डेमोक्रेटिक पार्टीका तर्फबाट करिब १८ जना आकांक्षी प्रारम्भिक चुनावी दौडमा छन्। अमेरिकी सञ्चार माध्यमहरुले ७७ वर्षीय ब्लूमबर्गले यहीँ हप्ता एक अमेरिकी राज्यबाट चुनावका लागि दरखास्त दिने तयारी गरेको जानकारी दिएका छन्।
गत मार्चमा ब्लूमबर्गले आफू राष्ट्रपतिको दौडमा नरहेको बताएका थिए तर अहिले चुनावी दौडमा आएका छन्। ब्लूमबर्गका एक सल्लाहकारके अनुसार ब्लूमबर्गले यससम्बन्धी निर्णय गरि सकेका भने छैन्न।
अमेरिकी अर्बपति व्यापारी समेत रहेका ब्लूमबर्गले आफ्ना सहयोगीलाई अमेरिकी राज्य अलाबामाबाट डेमोक्रेटिक पार्टीको प्राथमिक चुनावी प्रतिस्पर्धाका लागि आफ्नो हस्ताक्षर सहित आवेदन गर्न पठाएका छन्। अलाबामा राज्यमा आवेदन गर्ने शुक्रबार अन्तिम म्याद हो। अलाबामा राज्यमा पहिलो प्राथमिक चुनाव हुने मात्र होइन, आवेदनको म्याद पनि यहाँ पहिले सकिन्छ।
डेमोक्रेटिक पार्टीबाट मनोनयन भएमा सन् २०२० मा हुने अमेरिकी राष्ट्रपतिको चुनावमा ब्लूमबर्गको भिडन्त अर्का अमेरिकी अर्बपति व्यापारी एवं राष्ट्रपति डोनाल्ड ट्रम्पसँग हुनेछ। हालसम्म अमेरिकी धनाढ्य ब्लूमबर्गको चुनावी दौडल डेमोक्रेटिक पार्टीका तर्फबाट अग्रपंक्तिमा देखिएका जो बाइडेनमाथि मुख्य चुनौती खडा गर्नेछ।
न्यूयोर्क पोस्टमा छापिएको एक समाचारमा ब्लूमबर्गका निकटस्थले ‘ब्लूमबर्गको विचारमा जो बाइडेन कमजोर छन् र स्यान्डर्स एवं वारेनले चुनाव जित्दैनन्।’ ब्लूमबर्गको उपस्थितिले डेमोक्रेटिक पार्टी्भित्र राष्ट्रपतिको उम्मेदवार हुन चाहनेका आकाँक्षीको भिडमा अरु एक व्यक्ति थपिनेछन्। हाल १७ जना नेता उम्मेदवारी दौडमा छन्।
अमेरिकी वित्तीय राजधानी वालस्ट्रिट निकट मानिएका ब्लूमबर्गले राष्ट्रपतिको दौडमा रहेका अर्का प्रभावशाली उम्मेदवारहरु एलिजाबेथ वारेन र बर्नी स्यान्डर्सलाई बामपन्थी झुकाव राख्ने भन्दै आलोचना पनि गर्ने गरेका छन्।