रौतहट– नेपाली कांग्रेसका नेता आफताव आलमले बमकाण्डको घटना नै नभएको र आफूलाई झूठो आरोप लगाएको बयान दिएका छन्। राजपुर बमकाण्डको आरोपमा पक्राउ परेका आलमले न्यायाधीशको प्रश्नको जवाफमा यस्तो बताएका हुन्।
उनको बयान बुधबार दोस्रो दिन पनि सकिएन। बिहान १० बजे नै अदालत र्पुयाइएका आलमको बयान साँझ ४ं.३० बजेसम्म चलेको थियो। जिल्ला अदालत रौतहटको चार नम्बर इजलाशमा भएको बयानमा आलमलाई २३ वटा प्रश्न सोधिएको छ। न्यायाधीश दीपक ढकालको इजलाशमा आलमलाई मिसिलअनुसार प्रश्न सोध्ने र त्यसको जवाफ लिने कार्य भएको थियो।
न्यायाधीशले आलमलाई घटनासम्बन्धी मिसिल, घटना भए नभएको, कसरी के भएको र आलममाथि लगाइएको अभियोगको बारेमा प्रश्न सोधेका थिए। प्रहरीले अनुसन्धान गरी मिसिलमा सामेल गरेको अधिकांश प्रमाणहरुबारे सोधिएको प्रश्नमा पनि उनले इन्कारी जवाफ नै दिए। आलममाथि लगाइएका तीन मुद्दा मध्ये कर्तव्य ज्यान मुद्दा सम्बन्धी बयान मात्र बुधबार सम्पन्न भएको हो।
आलमलाई भोलि ज्यान मार्ने उद्योग र बम विस्फोटन सम्बन्धी कसुरका बारेमा प्रश्न सोधिने अधिवक्ता पुष्पराज पौडेलले बताए। पहिलो दिनको बयानमा मंगलवार आलमलाई ९ वटा प्रश्न सोधिएको थियो, जसमा घटनाबारे प्रश्न गरिएको थिएन। बेन्चले मिसिल अध्ययन गर्ने पूर्ण समय नपाएका कारण पनि बयानको क्रम सुस्त भएको अदालतको श्रोतले बताएको छ।
बयान बाँकी रहेकोले आलमलाई भने पुनः जिल्ला प्रहरी कार्यालयको हिरासतमा पठाइएको छ। पीडितको तर्फबाट बहसका लागि पूर्वमहान्यायाधिवक्ता डा. युवराज संग्रौलासहित अधिवता पुष्पराज पौडेल, आशिक राम कार्की रौतहटमा छन् भने अधिवक्ता गोविन्द शर्मा बन्दी र ओम प्रकाश अर्याल पनि जाने तयारीमा रहेको बताइएकाे छ।