एजेन्सी– दक्षिणी थाइल्याण्डमा सक्रिय शंकास्पद मुस्लिम विद्रोहीको आक्रमणबाट १५ जनाको ज्यान गएको थाई सेनाले बताएको छ। थाइल्याण्डको दक्षिणी क्षेत्रमा विगत १५ वर्षदेखि रक्तपातपूर्ण सङ्घर्ष भइरहेको छ।
थाइल्याण्डको दक्षिणमा अवस्थित तीनवटा प्रान्तमा जारी विद्रोही आक्रमणमा हालसम्म ७ हजारभन्दा बढी सर्वसाधारणको मृत्यु भईसकेको छ। मलाया–मुस्लिम विद्रोहीहरुले बढी स्वायत्तताको माग राखी सशस्त्र आन्दोलन गरिरहेका छन्।
सो क्षेत्रमा थाई सरकारले सैनिक कानून लगाएको छ। यहाँ सैनिक र प्रहरीको बाक्लो उपस्थिति रहनुका साथै तालिमप्राप्त नागरिक स्वयंसेवी परिचालन गरिएको छ। स्थानीयबासी र अधिकारकर्मीहरुले सैनिक कानूनका कारण स्थानीयबासीले कठिनाई भोग्नु परेको बताउँदै आएका छन्।
गत मंगलबार विद्रोहीहरुले याला प्रान्तका २ वटा जाँच चौकीमा आक्रमण गरेका थिए। सेनाका प्रवक्ता प्रमोट प्रोम–इनका अनुसार आक्रमणका कारण १२ जनाको घटनास्थलमै र तीन जनाको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ।
आक्रमणकारीले एम–१६ राइफल र सटगन समेत लुटेर लगेको जानकारी दिँदै उक्त क्षेत्रमा सैनिक परिचालन गरिएको र आक्रमणकारीको खोजी तिब्र बनाएको बताए। थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चान–ओ–चाले आक्रमणकारीलाई न्यायको कठघरामा ल्याइने बताएका रक्षा मन्त्रालयका प्रवक्ता कोङचीप तान्त्राभानिचले उल्लेख गरेका छन्।