विराटनगर– सामाजिक सञ्जालमार्फत अश्लील म्यासेज पठाएको आरोपमा पक्राउ परेका खेमराज नेपाललाई प्रहरीले अभद्र व्यवहार मुद्दा दर्ता गरेको छ। विराटनगर–३ भट्टा चोकमा बस्दै आएका नेपाललाई जिल्ला प्रहरी कार्यालय मोरङले अभद्र व्यवहार मुद्दा दर्ता गरेको हो।
पक्राउ परेका नेपाल जग्गा कारोवार र पर्यटन व्यवसायसँगै लायन्स क्लबमा पनि सक्रिय छन्।विराटनगर पुष्पलाल चोककी एक महिलाले दिएको उजुरीका आधारमा पक्राउ परेका नेपाललाई मंगलबार अभद्र व्यवहार मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायव उपरीक्षक राजकुमार खिइजूले जानकारी दिए।
प्रहरीका अनुसार नेपालले महिलालाई सामाजिक सञ्जाल फेसबुकको म्यासेञ्जरमा अश्लील सन्देश पठाएका थिए। म्यासेज पठाए लगत्तै महिलाले प्रहरीलाई मौखिक उजुरी गरेकी थिइन्। उजुरीलगत्तै प्रहरीले नेपाललाई नियन्त्रणमा लिएको थियो।
पीडित महिलाले मंगलबार मात्र लिखित उजुरी दिएपछि अभद्र व्यवहार मुद्दा दायर गरिएको डिएसपी खिइजूले बताए।