काठमाडौं– नेपाल भ्रमणमा रहेको मरिलेबोन क्रिकेट क्लब (एमसीसी)ले नेपालविरुद्धको तीनदिवसीय प्रथम श्रेणी खेलको पहिलो दिन सामान्य शुरुवात गरेको छ। टियु क्रिकेट मैदानमा भइरहेको खेलमा एमसीसीले ३५ ओभरमा २ विकेट गुमाउँदै १ सय २१ रन बनाएको छ।
नेपाललाई दोस्रो सफलता पनि सोमपाल कामीले नै दिलाएका छन्। सोमपालले दोस्रो विकेटको रुपमा विल रोड्सलाई ७३ रनमा आउट गरे। अहिले क्रिजमा एमसीसीका टोम वेस्टली ३१ रन बनाएर खेलिरहेका छन्।
नेपालका लागि पहिलो विकेट पनि सोमपाल कामीले लिएका छन्। उनले ओपनर बिली गोडलम्यानलाई १० रनमा ललित नारायण राजवंशीको उत्कृष्ट क्याच आउट गराएका थिए।
यस खेलबाट नेपालका लागि १० खेलाडीले प्रथम श्रेणीमा डेब्यु गरेका छन्। शरद भेषावकरले नेपालका लागि यसअघि नै प्रथम श्रेणी क्रिकेट खेलिसकेका थिए भने सोमपालले श्रीलंकाको घरेलु क्रिकेट खेलेका थिए।