एजेन्सी– इंग्लिस प्रिमियर लिग फुटबलमा शनिबार राति ८ खेलहरु हुँदैछ। तीमध्ये केहि खेलहरु हेर्न लायक हुनेछन्। लिगको शीर्षस्थानमा रहेको लिभरपुलले एस्टन भिल्लाको सामना गर्दैछ।
त्यस्तै म्यानचेस्टर सिटीले घरेलु मैदानमा साउथह्याम्पटनविरुद्ध खेल्दैछ। लिभरपुल एस्टन भिल्लालाई उसकै मैदानमा पराजित गर्दै आफ्नो अग्रता बलियो बढाउने लक्ष्यमा छ। सिटी पनि साउथ ह्याम्पटनलाई पराजित गर्दै लिभरपुलसँगको अंक दुरी घटाउने सोचमा हुनेछ।
दुबै खेल राति ८ः४५ बजेपछि शुरु हुनेछ। त्यसअघि शनिबार नै बर्नमाउथले म्यानचेस्टर युनाइटेडसँग प्रतिस्पर्धा गर्दैछ। उक्त खेल भने साँझ ६ः१५ बजे शुरु हुनेछ।
१० औं चरणको खेल सकिँदा लिभरपुल ९ जित र एक बराबरीसहित २८ अंक जोडेर शीर्षस्थानमा रहेको छ। समान खेलबाटै ७ जित, १ बराबरी र दुई हारबाट सिटी २२ अंक जोडेर दोस्रो स्थानमा छ। एस्टन भिल्ला ११ अंक जोडेर १५ औं तथा साउथह्याम्पटन ८ अंकसहित रेलिगेसन जोनको १८ औं स्थानमा छ।