एजेन्सी– ब्राजिलियन फुटबलर नेयमार जुनियरलाई भित्र्याउन बार्सिलाेनाका खेलाडी लालयित देखिएका छन्। आफ्ना पूर्व सहकर्मी नेयमार बार्सिलोना आइदिए खुशी हुने उनीहरु बताउँछन्।
बार्सिलोनाका डिफेन्डर जेरार्ड पिकेले नेयमार बार्सिलोना आउने अवस्थामा खेलाडीहरु आफ्नो तलब ढिला लिनसमेत तयार रहेको प्रतिक्रिया दिएका छन्। यसअघि अर्जेन्टिनी फुटबलर तथा बार्सिलोनाका कप्तान लियोनल मेस्सीले पनि नेयमारलाई पुनः बार्सिलोना फर्काउन दबाब दिएको खबरहरु सार्वजनिक भएका थिए।
मेस्सीसँगको सुमधुर सम्बन्धका कारण त्यस समय नेयमार पनि पूर्व क्लब फर्किन तयार भएका थिए। त्यसपश्चात् फ्रेन्च क्लब पीएसजीबाट नेयमारलाई बार्सिलोना ल्याउने प्रयास गरिएको थियो जुन सफल हुन सकेन। नेयमार सन् २०१७ मा बार्सिलोनाबाट २ सय २२ मिलियन युरोमा फ्रेञ्च क्लब पिएसजीमा अनुबन्धित भएका थिए।
जारी सिजनको लागि बार्सिलोनाले यसअघि नै मिडफिल्डर फ्रान्की डे जोङलाई अयाक्स र एन्टोनी ग्रिजम्यानलाई क्लबमा भित्र्याइसकेको छ। त्यसकारण बार्सिलाेना ठूलाे रकममा नेयमार भित्र्याउन नसक्ने अवस्थामा रहेकाे बताइन्छ।