एजेन्सी–भारतको राजधानी दिल्लीमा वायुको गुणस्तर थप खस्केको पाइएको छ। वायुको गुणस्तरको अवस्था खराब देखिएको छ। दीपावलीको पूर्वसन्ध्यामा सार्वजनिक गरिएको तथ्याङ्कमा पञ्जाब र हरियाणालगायतका छिमेकी राज्यमा नियमित रूपमा बाल्ने गरिएको घाँस–पराल कारण नयाँ दिल्लीमा वायुको गुणस्तर खस्किएको विज्ञले जनाएको छ।
हरियाणा र पञ्जाबका किसानले मकै, गहुँ र धान जस्ता अन्नबाली भित्र्याएपछि त्यसको डाँठ, नल र पराल खेतमै बाल्ने गरेको वायु प्रदूषण भएकोले यस्तो बस्तु बाल्न निषेध गरिएता पनि त्यो कार्यान्वयन नहुँदा समस्या भएको हो।
वायुको गुणस्तर र तापक्रम वृद्धिको बढी असर बालबालिका र बुढाबुढीमा पर्ने गरेको भन्दै वातावरणविद्हरुले चिन्ता व्यक्त गरेका छन्। दिल्लीमा बढ्दो वायु प्रदूषणलाई मध्यनजर गर्दै यस पटक दीपावलीका अवसरमा पटाका पड्काउन निषेध गरिएको छ।
दिल्ली सरकारले यस पटक नयाँ दिल्लीको केन्द्रमा रहेको कन्नट भव्य लेजर लाइट राख्ने भएको छ। त्यस्तै दिल्ली सरकारले प्रदूषण कम गर्न आउँदो नोभेम्बर देखि दिल्लीमा जोर बिजोर प्रणालीमा सवारी साधन चलाउने प्रक्रिया अघि सारेको छ।