एजेन्सी– थाईल्यान्डका राजा महा वाचिरालङ्कनले ६ जना कर्मचारी सेवाबाट बर्खास्त गरेका छन्।
विश्वासघात र दुर्व्यवहारको अभियोगमा आफ्नी उपपत्नीका सबै उपाधि खोसिदिएको केही दिनपश्चात उनले आफ्ना कर्मचारीलाई पनि सेवाबाट हटाएका हुन्। राजाले पदमुक्त गरिदिएका कर्मचारीमा एक महिला, एक वरिष्ठ प्रहरी अधिकारी तथा दुई शाही सुरक्षासेवक पनि छन्। उनीहरूलाई आफ्नो र अन्य व्यक्तिको लाभका लागि पदको दुरुपयोग गरेको आरोप लगाइएको छ।
राजपत्रमार्फत् सार्वजनिक गरिएको सूचनामा भनिएको छ, ‘उनीहरूले आफ्नो र अन्य व्यक्तिको लाभका लागि पदको दुरुपयोग गरेर अनुशासनको गम्भीर उल्लङ्घन गरेका छन्।’ राजा वाचिरालङ्कनले आफ्ना पिताको भन्दा पृथक् तरिकाले शक्तिको प्रयोग गरिरहेका छन्। थाईल्यान्डको राजद्रोह सम्बन्धी कानूनले राजाको आलोचना गर्न प्रतिबन्ध लगाएको छ।
सोमवार राजकीय उपपत्नी सिनीनात वङ्वाचिराफाकका सबै पद तथा उपाधिहरू खोसिएको थियो। चौतीस वर्षीया सिनीनातले ‘महारानी सरहको मान्यता पाउने प्रयत्न गरेको’ भन्दै उनलाई राजाले दण्ड दिएका थिए।