एजेन्सी– आतंकवादी हमला हुन सक्ने भन्दै भारतको राजधानी दिल्लीमा हाई अलर्ट जारी गरिएको छ।
आतंकवादी संगठन जैश–ए–मोहम्मदले दिल्लीका विभिन्न स्थानलाई आक्रमणको निशाना बनाएको गुप्तचर सूचनाको आधारमा दिल्ली प्रहरीले हाई अलर्ट जारी गरेको हो। गुप्तचर स्रोतको अनुसार भारतमा हिन्दूहरुको महान चाड दिपावलीलाई मध्यनजर गरी उक्त आतंकवादी संगठनले आक्रमणको तयारी गरेको भारतीय अधिकारीहरुको भनाइ छ।
भारतको ४ सय बढी स्थानमा आक्रमण गर्ने सूचना आएको भन्दै राजधानी नयाँ दिल्लीमा उच्च सुरक्षा सतर्कता अपनाइएको हो। भारतीय गुप्तचर एजेन्सीका अनुसार इस्लामिक आतंकवादी संगठन जैश–ए–मोहम्मदले भारतका विभिन्न स्थानमा आक्रमण गर्ने तयारी गरेको छ।
यो पनि पढ्नुहोसः ‘अब सबै इन्डियाले गर्छ’
भारतीय संचार माध्यमहरुको अनुसार दिल्ली प्रहरी प्रशासनले यो सूचना पाएलगत्तै हाई अलर्ट जारी गरेको हो। प्रहरीले राजधानी दिल्लीका १५ मध्ये आठ स्थानलाई अत्यन्तै संवदेनशील क्षेत्र घोषणा गरेको छ। त्यसमा रोहिणी, दिल्ली उत्तरपूर्व, उत्तरपश्चिम, उत्तर, नयाँदिल्ली, द्वारका, पूर्वी र मध्य क्षेत्रका चार सय बढी भवन र केही बजारलाई आतंकवादी समूहले आफ्नो निशाना बनाउन सक्ने गुप्तचर अधिकारीहरुको आशंका छ।
ती क्षेत्रमा ४ सय २५ भन्दा बढी ब्यवसायिक भवनहरु रहेका छन्, जसको सुरक्षामा चौबीसै घण्टा सुरक्षाकर्मी तैनाथ हुन्छन्। यस्तै २ सय भवनलाई भीआईपी क्षेत्र भनेर तोकिएको छ। दिल्ली प्रहरीले सुरक्षा व्यवस्था कडा पार्दै ती सबै स्थानहरुमा थप सुरक्षाकर्मी परिचालन गरेको छ।
स्रोतले ३ मे २०१६ मा दिल्लीको चाँदनी चोक क्षेत्रबाट पक्राउ परेका जैश–ए–मोहम्मदका तीन सदस्यहरुले दिल्लीमा आक्रमण गर्ने योजना रहेको खुलासा गरेको बतायो। उनीहरुलाई आश्रय दिने १० भन्दा बढी स्थानीय व्यक्ति पनि पक्राउ परेका थिए।
त्यसपछि जनवरी २०१९ मा पक्राउ परेका जैश–ए–मोहम्मदका अब्दुल लतिफ गनी–उमैर र हिलाल अहमद भटबाट पनि आक्रमणसँग सम्बन्धित महत्वपूर्ण जानकारी हासिल गरेको भारतीय सुरक्षा अधिकारीहरुले बताएका छन्।