एजेन्सी– पाकिस्तानले जम्मू–कश्मीर सीमा क्षेत्रमा गोलाबारी गर्दा दुई भारतीय सैनिक र एक सर्वसाधारणको मृत्यु भएको छ।
भारतले जम्मू–कश्मीरको कुपवाडा जिल्लामा रहेका सैन्य पोष्ट र गाउँमा गोलाबारी गरेको आरोप पाकिस्तानलाई लगाएको छ। पाकिस्तानले सीजफायर उल्लंघन गरेको भारतको आरोप छ। उक्त घटनामा अन्य तीन जना गम्भीर घाइते भएका छन्।
अधिकारीहरुले सीमा क्षेत्रमा भएको गोलाबारीका कारण दुई घर पूर्ण रुपमा नष्ट भएको र भने घरहरुमा पनि क्षति पुगेको जनाएका छन्। गत सेप्टेम्बर १५ मा भारतको विदेश मन्त्रालयका प्रवक्ता रवीश कुमारले यस वर्षमात्र २०५० भन्दा धेरैचोटी युद्धविरामको उल्लंघन गरेको पाकिस्तानलाई आरोप लगाएका थिए। यसैक्रममा २१ जनाको मृत्यु भईसकेका छन्।
भारतीय सञ्चारमाध्यमले पाकिस्तानले श्रीनगरमा अशान्ति फैलाउने प्रयास गरिरहेको जानकारी दिए। १० भन्दा बढी आतंकवादी अशान्ति फैलाउनको लागि श्रीनगर आसपास क्षेत्रमा लुकेर बसेका छन्। खुफिया सुत्रको हवाला दिँदै उनीहरु कारवाहीका लागि उपयुक्त समयको प्रतिक्षामा रहेको जनाइएको छ।