एजेन्सी–आप्रवासी कामदारको न्यूनतम तलब कतार सरकारले निधारण गर्ने कानुन पारित गरेको छ। सन् २०२२ को विश्वकप फुटबलको आयोजक राष्ट्र कतार खाडी क्षेत्रमा विदेशी श्रमिकको न्यूनतम तलबबारे कानून बनाउने पहिलो देश हाे।
बुधबारको मन्त्रिपरिषद बैठकले आप्रवासी श्रमिकको न्यूनतम तलब निर्धारण गर्न बनेको मस्यौदालाई पारित गरेको कतारको प्रशासनिक विकास, श्रम र सामाजिक मामिला मन्त्री युसुफ मोहम्मद अल ओथमान फक्ह्रोलेसञ्चारमाध्यमार्फत जानकारी दिएका थिए। बुधबार पारित भएको नयाँ ऐन सन् २०२० जनवरीदेखि कार्यान्वयन गर्ने जनाएको छ।
खाडी मुलुकमा न्यूनतम तलब तोक्ने विषयमा नेपाल सरकार र सम्वन्धित मुलुकको निर्णय फरक देखिने गरेको छ। अन्तराष्ट्रिय श्रम संगठन आइएलओले कतार सरकारको पछिल्लो निर्णयलाई कामदारका हितमा महत्वपूर्ण उपलब्धि भन्दै स्वागत गरेको छ। कतारमा ३६ देशका २५ लाख भन्दाबढी कामदारले रोजगारी गरिरहेका छन्। कतारले सबै मुलुकका कामदारको तलब बरावरी हुने जनाएको छ।
रोजगारीका लागि कतार जाने नेपाली अदक्ष कामदारको तलब न्युनतम ९ सय कतारी रियाल तोकेपनि कतारका रोजगारदाताले ७ सय ५० रियाल मात्रै दिने गरेका छन्। हाल कतारमा ५ लाख नेपाली कार्यरत रहेका छन्।