काठमाडौं– आवश्यकताअनुसार कतार सरकारले छोटोअवधिका लागि विदेशी श्रमिक आपूर्ति गर्ने भएको छ। अस्थायी विदेशी श्रमिकका लागि कतारले रोजगारी अनुमति दिने भएको छ।
सन् २०२२ विश्वकप फुटवलको आयोजक राष्ट्र कतारको प्रशासनिक विकास, श्रम तथा सामाजिक मामिला मन्त्रालयले भर्खरै मात्र सो निर्णयको सूचना जारी गरेको छ। कतारमा निर्माण तथा सेवा क्षेत्रमा अस्थायी श्रमिकको माग धेरै रहेको बताइएको छ। उक्त मन्त्रालयको निर्णयअनुसार एक देखि तीन महिनासम्म कतारका कम्पनीहरुले ६ वटा क्षेत्रमा विदेशी अस्थायी श्रमिक ल्याउने उद्देश्य राखेको हो।
अहिलेसम्म कतारमा काम गर्ने कम्पनीको स्पोन्सर अनिवार्य थियो। तर कतार सरकारले विदेशी कामदारका सन्तानले काम गर्न स्पोन्सर परिवर्तन गर्न नपर्ने नयाँ निर्णय पनि लागू गरेका मन्त्रालयले सूचनामा जानकारी गराएको छ। अब उनीहरूले आफ्नो परिवारको स्पोन्सर रहुञ्जेल स्पोन्सर परिवर्तन नगरी निजी क्षेत्रमा काम गर्न सक्ने व्यवस्था लागू गरिएको छ।
विदेशी कामदारलाई कतारमा अनलाइन मार्फत् प्रदान गर्ने सम्पूर्ण सेवाहरुमा पनि २० प्रतिशत छुट दिने बताइएको छ।