एजेन्सी– जम्मु काश्मिरमा ७२ दिनपछि सोमबार दिउँसोदेखि पोस्टपेड मोबाइल सेवा शुरु गरिएको छ।
जम्मु काश्मिरका मुख्य सचिव रोहित कन्सालका अनुसार सोमबार दिउँसो १२ बजेदेखि काश्मिर प्रान्तका १० वटै जिल्लामा पोस्टपेड मोबाइल सेवा सञ्चालन हुने छ। सुरक्षा स्थितिको मूल्याङ्कन पश्चात जम्मु काश्मिरका सबै भागमा मोबाइल सेवा सुचारु गर्ने निर्णय भएको उनको भनाई छ।
भारतीय संविधानबाट धारा ३७० मा रहेका प्रावधान हटाएका कारण सुरक्षा खतरा बढ्ने सम्भावना रहेको भन्दै भारत सरकारले सम्पूर्ण जम्मु काश्मिरमा गत अगस्ट ५ देखि सबै टेलिकम नेटवर्क र ल्यान्डलाइन सेवा बन्द गरेको थियो।
यसअघि नै ल्यान्डलाइन सेवा चरणबद्ध रुपमा खुला गरिए पनि काश्मिर उपत्यकाका विभिन्न क्षेत्रमा मोबाइल उपकरणको प्रयोगमा प्रतिबन्ध लगाइएको थियो। गत शनिबार जम्मु काश्मिरका सबै इलाकामा ल्यान्डलाइन फोन सेवा पूर्ण रुपमा सञ्चालनमा आएका कंसालले जनाए।
कन्सालले जम्मु काश्मिरमा हिँडडुलमा लगाइएका प्रतिबन्धहरु पनि ९९ प्रतिशत हटेको जानकारी दिए। जम्मु काश्मिरका गभर्नरले पर्यटकहरुका लागि जम्मु काश्मिर अक्टोबर १० देखि खुला रहने घोषणा गरेलगत्तै टेलिकममा लगाइएका प्रतिबन्धहरु पनि हटाइएका हुन्।
स्थानीय प्रशासनले जम्मु काश्मिर भ्रमणमा आउने पर्यटकलाई आवश्यक सहयोग र स्रोत उपलब्ध गराउने बताएको छ। परिस्थिति सामान्य भएसँगै गत अगस्ट २९ देखि नै जम्मुका डोडा, किस्टवाड, रामबन, रजौरी र पूँचमा पोस्टपेड मोबाइल सेवा शुरु भइसकेको छ।