काबुल, १० माघ – अफगानिस्तानमा जारी द्वन्द्वको कारण छिमेकी देश पाकिस्तान र इरानमा शरण लिन पुगेका २१ हजार अफगान शरणार्थी आफ्नो देश फर्केका छन्।
संयुक्त राष्ट्रसंघीय आप्रवासनसम्बन्धी एजेन्सी (आइओएम) ले बिहीबार सो जानकारी दिएको समाचारमा जनाइएको छ। उक्त एजेन्सीले सन् २०१९ को जनवरीबाट हालसम्म घर फर्केका शरणार्थीको संख्या दिएको जनाइएको छ।
यस समयावधिमा २० हजार ९८६ अफगान नागरिक इरानबाट आफ्नो गृह नगर फर्किएका थिए। इरानमा लामो समयसम्म ती अफगान शरणार्थी बेरोजगार भएर बस्नुपरेको पनि आइओएमले जानकारी दिएको छ। त्यस समयमा ९ सय ५० अफगान नागरिक पाकिस्तानबाट आफ्नो गृह नगर फर्किएका आइओएमले जानकारी दिएको छ।
अफगानिस्तानमा सन् २००१ को अन्त्यमा तालिबानहरु सत्ताबाट बाहिरिएपछि तालिबान लडाकूको रुपमा अफगान सरकारसँग शुरु गरेको लडाई हालसम्म पनि जारी रहेको छ।
सोही द्वन्द्वको क्रममा लाखौँ नागरिक मारिएका छन् भने अरु लाखौँजना देशभित्र र छिमेकमा पर्ने देशहरुमा शरण लिन बाध्य रहेका छन्।
हाल अफगानिस्तानमा पहिलेको तुलनामा केही हदसम्म सरकारको नियन्त्रमणमा रहेको भू–भाग बढेको बताइन्छ । जसका कारण अफगान शरणार्थीहरु पनि आफ्नो घर फर्किने क्रम बढेको बताइएको छ। (रासस)