काठमाडौं - सौरभ गांगुली भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) को अध्यक्ष र गृहमन्त्री अमित शाहका छोरा जय शाह सचिव बन्ने भारतीय सञ्चार माध्यमले जनाएका छन्।
त्यस्तै बीसीसीआई र कर्नाटक राज्य क्रिकेट एसोसिएसनमा काम गरिसकेका पूर्व क्रिकेट खेलाडी ब्रजेश पटेललाई आईपीएलको नयाँ अध्यक्ष बनाइने छ।
दैनिक जागरणका अनुसार, मुम्बईमा आइतबार साँझ भएको राज्य क्रिकेट संघका प्रतिनिधिहरुको बैठकमा यो सहमति भएको हो। त्यसअघि शनिबार भाजपाका एक वरिष्ठ नेताको घरमा पनि बैठक बसेको थियो।
४७ वर्षीय सौरभ गांगुली भारतीय क्रिकेट टिमका पूर्वकप्तान हुन्। उनी हाल बंगाल क्रिकेट संघका अध्यक्ष छन्। उनको पदावधि सेप्टेम्बर २०२० मा समाप्त हुँदैछ। त्यसपछि उनी तीन वर्षको कुलिङ पिरियडमा जानुपर्ने छ। यदि सौरभ गांगुली बीसीसीआईको नयाँ अध्यक्ष बनेमा उनी १० महिनासम्म यस पदमा रहने छन्।
बीसीसीआईको पाँच सदस्यीय पदका लागि १४ अक्टबुर अर्थात् सोमबार मनोनयन दर्ता र २३ अक्टुबरमा चुनाव छ। तर, यसपटक चुनाव नहुने र सबै निर्विरोध निर्वाचित हुने समाचारमा उल्लेख छ।