एजेन्सी - जापानको राजधानी टोकियोलगायतका स्थानमा आएको ‘हागिबिस’ नामक तुफानका कारण ज्यान गुमाउनेको सख्या ३५ पुगेको जापानी सञ्चारमाध्यले जनाएको छ। आँधीपछि करिब २० जना हराइरहेको क्योदो न्यूज एजेन्सीले उल्लेख गरेको छ।
आँधीसँगै भएको वर्षाका कारण कैयौँ नदीहरूमा बाढी आएको र नदीको पानी वस्तीहरूमा पसेका कारण ठूलो धनजनको क्षति भएको हो।
उद्धारकर्ता तथा जापानी अधिकारीले दिएको जानकारी अनुसार शनिबार साँझ आएको आँधीका कारण कैयौँ स्थानमा बाढी पहिरो गएको र कतिपय बस्तीहरू डुबानमा परेका छन्।
सरकारले आँधीपछि २७ हजार स्वयम्सेवक बललाई उद्धार र राहतका लागि खटाएको जनाएको छ। भू–संरचना, यातायात तथा पर्यटन मन्त्रालयले दिएको जानकारी अनुसार आँधीपछि विभिन्न १२ राज्यका कम्तीमा ४८ स्थानमा पहिरो गएको र २१ नदीमा बाँध फुटेका कारण ठूलो क्षति भएको उल्लेख छ।
स्थानीयहरूले आँधी विगत ५० वर्ष यताकै शक्तिशाली भएको बताएका छन्। आँधीको प्रभाव सबैभन्दा धेरै नागानो राज्यमा परेको बताइएको छ। अधिकारीले आँधीपछि नागानो र छिमेकी राज्यका शहरहरूका बासिन्दालाई सुरक्षाका लागि अझै सावधानी अपनाउन निर्देशन गरेको छन्।
मन्त्रालयका अनुसार कतिपय वस्तीहरूमा बाढीको पानी करिब पाँच मिटरसम्म जमेको बताइएको छ भने त्यहाँका बासिन्दाले उद्दारका लागि घरका तलाहरूबाट हात हल्लाएर अनुरोध गरेका भिडियोहरू टेलिभिजन तथा सामाजिक सञ्जालमा देखिएका छन्।
नागानो क्षेत्रमा चल्ने जापानका बुलेट रेलहरूसमेत डुबानका कारण अवरूद्ध बनेका छन्। रेल कम्पनीका अनुसार १० वटा रेलका १२० डब्वाहरूमा क्षति पुगेको छ। आइतबार तुफानको प्रभाव कम भएको बताइएको छ।