एजेन्सी - संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरसले राष्ट्रसंघले आफ्ना कर्मचारीलाई तलब दिन नसक्ने जोखिम रहेको बताएका छन्। महासभाको बजेट समितिमा बोल्दै संगठनसँग ‘नोभेम्बर महिनामा आफ्ना कर्मचारीलाई तिर्ने पैसा पनि नहुने’ जोखिम आइरहेको बताएका हुन्।
यही अक्टोबरमै संयुक्त राष्ट्र संघ दशकौँ यताको सबैभन्दा खराब बजेट घाटा सामना गर्दैछ। गुटेरसले बजेट समितिका १९३ सदस्यलाई यस जोखिमबारे जानकारी गराए।
साथै गुटेरसले यो खतरा टार्नको लागि संगठनका सदस्य राष्ट्रले आफूले तिर्नुपर्ने शुल्क तिर्नुपर्ने बताएका छन्। त्यस्तै यस्तो अवस्थामा आएमा संगठनको ‘काम र सुधार जोखिममा पर्ने’ गुटेरसले चेतावनी दिए। महासचिवले यो वर्ष बजेटरी खाडल पुर्नको लागि पैसा बचाउने र खर्च घटाउने उलेखनीय कदम चालेका थिए।
उनले यी कदमबीना संयुक्त राष्ट्र संघले प्रत्यक वर्ष सेप्टेम्बरमा न्युयोर्कको मुख्यालयमा सम्पन्न गर्ने विश्व नेताहरुको भेलासमेत गराउन नसक्ने अवस्था रहेको बताए। पछिल्लो आर्थिक अभावले गर्दा कयैन पदहरु पदपुर्ति गरिएका छैनन् भने अत्यावश्यक भ्रमणहरु मात्र स्वीकृति दिइएको छ।
कसले कति तिर्न बाँकी छ ?
संयुक्त राष्ट्र संघका प्रवक्तका अनुसार १९३ सदस्य राष्ट्रमध्य १२९ राष्ट्रले आफूले तिर्नुपर्ने शुल्क बुझाइसकेका छन्। यसबाट कुल २ अर्ब अमेरिकी डलर उठेको छ।
सन् २०१९ को लागि संयुक्त राष्ट्र संघले आफूलाई ३.३ अर्ब अमेरिकी आवश्यक पर्ने बताएको छ। संयुक्त राष्ट्र संघको नियमित बजेटले राजनीतिक, मानवीय सहयोग, निशस्त्रीकरण, आर्थिक र संचार परियोजनाको रकम तिर्नेगर्छ। संयुक्त राष्ट्र संघको शान्तीसेनाको बजेट भने अलग हुने गर्छ।
शुल्क तिर्न बाँकी रहेका राष्ट्रमा उल्लेखनीय राष्ट्र अमेरिका पनि छ। अमेरिकाको भागमा संयुक्त राष्ट्र संघको वार्षिक बजेटको २२ प्रतिशत पर्छ। संयुक्त राष्ट्र संघका लागि अमेरिकी मिसनले आफूले संगठनलाई यो वर्षको ६७.४ करोड डलर शुल्क नतिरेको स्वीकार्यो। त्यस्तै उसका अनुसार अघिल्लो वर्षको ३८.१ करोड डलर रकम पनि तिरिएको छैन।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विगतदेखिनै अमेरिकाले संयुक्त राष्ट्र संघको ठूलो आर्थिक भार उठाइरहेको र त्यो कम हुनुपर्ने बताउँदै आएका छन्। गुटेरसले सदस्य राष्ट्रले आफ्नो शुल्क नबुझाउने हो भने आफ्ना कर्मचारीले तलब नपाउनेदेखि वैठकहरु रद्द गर्नुपर्ने अवस्था आउने बताए।