काठमाडौं – भुटानमा जारी यू–१५ महिला साफ च्याम्पियनसिप फुटबलको अन्तिम खेलमा नेपालले भुटानसँग १–१ गोलको बराबरी खेलेको छ। यसअघिनै च्याम्पियनसिपबाट बाहिरिएको नेपालले जितविनै भुटान यात्रा सकेको छ।
आइतबार भएको राउन्ड रोविन लिगको अन्तिम खेलमा नेपालले भुटानविरुद्ध सुरुवाती अग्रता लिएरपनि बराबरीमा चित्त बुझायो। पहिलो हाफ गोल रहित बराबरीमा सकिएको खेलमा नेपालले ५१औं मिनेटमा गोल गरेको थियो। नेपालकी निकिता थोकरले गोल गरिन्। त्यसपछि भुटानकी कप्तान डेकी इहाजोमले ६८औं मिनेटमा बराबरी गोल फर्काइन्।
नेपाल पहिलो खेलमा भारतसँग ४–१ र दोस्रो खेलमा बंगलादेशसँग २–१ गोलले पराजित भएको थियो। भारत र बंगलादेश एक खेलअघिनै फाइनलमा पुगेका थिए। लिगचरणको अन्तिम खेलमा आइतबार नै भारत र बंगलादेशले पनि १–१ गोलको बराबरी खेलेका छन्। दुई टोलीबीच फाइनल खेल मंगलबार हुनेछ।