एजेन्सी–शनिवार जापानमा शक्तिशाली आँधी आउदाँ २३ जनाको मृत्यु भएको छ। मृत्यु भएपिछ जापान सरकारले उक्त क्षेत्रमा दशौँ हजार सुरक्षाकर्मी तथा उद्धारकर्ताहरूलाई परिचालन गरेको छ। जापान सरकारको अनुसार उक्त हगिबिस आँधी ६० वर्ष यताकै शक्तिशाली आँधी रहेको छ।
हगिबिस आँधीका कारण राजधानी टोक्योको दक्षिणी भेगमा आएको बाढीका कारण जमीन भासिँदै गएको छ। र बाढी समेत आएको बताइएको छ। जापानी समाचार संस्था एनएचकेले आँधीका कारण हालसम्म १३ जना हराएका बताएको छ।
उद्धार
नगानो प्रान्तस्थित जापानको चर्चित बुलेट रेललाई पानीले घेरेको छ भने अलपत्र परेका स्थानीयलाई हेलिकप्टरको सहायताले घरका छानाबाट उद्धार गरिएको छ। सरकारले करिब २७ हजार सैनिक तथा अन्य कैयन् उद्धारकर्ताहरू पीडितलाई राहत र्पुयाउन खटिएको जनाएको छ।
टोक्योको उत्तरतर्फ पर्ने कावागोयमा आपत्कालिन उद्दारकर्ताहरूले नर्सिङ होममा फसेका मानिसहरूको उद्धारका लागि डुङ्गाको प्रयोग गरेका छन्। करिब चारलाख घरहरूमा विद्युत् आपूर्ति बन्द भएको बताइएको छ।
खेल रद्द
आँधी पुनः फर्किने त्रासका कारण रेल तथा हवाइ सेवाका उडानहरू समेत रद्द गरिएका छन्। आइतबार भने आँधी केही मत्थर भएको जनाइएको छ। आँधीका कारण विश्वकप रग्वी खेल रद्द भएको छ तर जापान र स्कटल्याण्डबीचको एक महत्त्वपूर्ण खेल भने आइतवार हुँदैछ।
गत महिनामा मात्रै अर्को आँधीका कारण जापानका ३० हजार भन्दा बढी घरहरू क्षतिग्रस्त भएका थिए र ती घरहरू हालसम्म पनि मर्मत गरिएका छैनन्।