रौटहट - नेपाली काँग्रेसका सांसद मोहम्मद अफताब आलमलाई प्रहरीले पक्राउ गरेको छ। रौटहट क्षेत्र नं २ बाट निर्वाचित आलमलाई बम बिष्फोटको घटनामा संलग्न भएको आरोपमा रौतहटको गौरबाट पक्राउ गरिएको हो।
२०६४ चैत २७ राति रौतहटको राजपुर खरदवामा भएको बम विस्फोटको घटनामा उनी संलग्न भएको आरोप छ। संविधानसभाको पहिलो चुनाव लक्षित गरी बम बनाउँदै गर्दा विस्फोट भएको घटना लुकाउन १३ जना घाइतेहरुलाई नजिकैको इँटाभट्टामा हत्या गरेको आरोप आलममाथि छ।
आइतबार बिहान पौने ११ बजे पक्राउ परेका आलमलाई जिल्ला प्रहरी कार्यालय रौटहटमा राखिएको छ। मन्त्रीसमेत भइसकेका आलम कांग्रेस जिल्ला सभापति हुँदै केन्द्रीय सदस्यसमेत भइसकेका थिए।
बम विस्फोटमा मृत्यु भएका केही परिवारको उजुरीका आधारमा पहिले नै अनुसन्धान भएतापनि पर्याप्त प्रमाण नभएको कारण अदालतले सरकारी वकिल कार्यायबाट मुद्दा नचलाउने निर्णय गरेको थियो। तर सर्वोच्च अदालतको फैसला कार्यान्वयन निर्देशनालयले ०७५ चैत ८ गते पुनः मुद्दा चलाउने आधारहरु प्रशस्त भएको भन्दै पक्राउ गर्न आदेश दिएको थियो।
तत्कालीन न्यायाधीशद्वय सुशीला कार्की र भरतबहादुर कार्कीको संयुक्त इजलासले २०६९ जेठ १६ मा दोषी आरोपित आलमसहित पाँच जनालाई गिरफ्तार गरी कारवाही प्रक्रिया अघि बढाउन आदेश दिएको थियो। सोहि आदेशअनुसार पक्राउ पूर्जी जारी भएपछि अनुसन्धानका लागि नियन्त्रण लिइएको प्रहरीले जनाएको छ।