काठमाडौँ - नेपालका लेग स्पिनर सन्दीप लामिछानेको टोली बार्बाडोस ट्रिडेन्टले क्यारेबियन क्रिकेट लिग (सीपीएल) को उपाधि जितेको छ।आइतबार बिहान भएको फाइनल खेलमा बार्बाडोसले ग्युएना अमेजन वारिवर्सलाई २७ रनले हराउँदै उपाधि जितेको हो। यद्यपी यस खेलमा सन्दीप थिएनन्।
सन्दीपले सीपीएलमा ६ खेल खेलेर नेपाली राष्ट्रिय टोलीमा सामेल हुन ओमन आएका थिए। सीपीएलमा यस सिजन सन्दीपले ६ खेल खेल्दै आठ विकेट लिएका थिए।
बार्बाडोसले दिएको एक सय ७२ रनको लक्ष्य पछ्याएको वारिवर्सले २० ओभरमा नौ विकेटको क्षतिमा एक सय ४४ रन मात्र बनाउन सकेको थियो। वारियर्सका लागि ब्राडोन किङले सर्वाधिक ४३ रन बनाए।
किमो पाउलले २५ र निकोलस पुरनले २४ रन बनाए। बार्बाडोसका रेमन रिफरले चार विकेट लिए। ह्यारी गुरने र एस्ले नर्सले दुई दुई विकेट लिए।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बार्बाडोसले २० ओभरमा ६ विकेटको क्षतिमा एक सय ७१ रन बनाएको थियो। बार्बाडोसका जोनाथन कार्टरले अविजित ५० रन बनाए।
जोनसन चाल्र्सले ३९ र एलेक्स हेल्सले २८ रन बनाए । वारिवर्सका इमरान ताहिर, वेन लघलिन, रोमारियो सेपहर्ड, किमो पउलले एक एक विकेट लिए ।