एजेन्सी– अमेरिकाको निकै लोकप्रिय अनलाइन भुक्तानी कम्पनी पेपल होल्डिङ्सले फेसबुकको अग्रसरतामा गठन भएको लिब्रा एसोसिएसनबाट बाहिरिने घोषणा गरेको छ।
फेसबुकको अग्रसरतामा रहेको डिजिटल मुद्रा परियोजनाका २८ वटा सदस्यमध्ये पेपल एक थियो। शुक्रबार पेपलले एक विज्ञप्ति प्रकाशन गरी विश्वव्यापी यस क्रिप्टोकरेन्सी क्लबबाट बाहिरिने घोषणा गरेको हो।
यस क्लबमा भिसा, उबर, लिफ्ट र मास्टरकार्ड समेतका कम्पनीहरु सदस्य छन्। अमेरिकाको सान जोजेमा मुख्यालय रहेको पेपलले जारी गरेको विज्ञप्तिमा कम्पनीले हालकै संरचना र विधिबाट बढीभन्दा बढी प्रयोगकर्तालाई सुरक्षित र भरपर्दो सेवा प्रवाह गर्ने बताएको छ।
गत जुन २०१९ मा औपचारिक रुपमा घोषणा गरिएको लिब्राबाट संस्थापक सदस्य बाहिरिएको यो पहिलो कम्पनी हो। आगामी सन् २०२० को जुनमा अरु सदस्यको साझेदारीमा लिब्रालाई प्रयोगमा ल्याउने घोषणा गरिएको थियो।
तर पेपलले फेसबुकसँगको सहकार्यलाई निरन्तरता दिने बताएको छ। अमेरिकी अखबार वालस्ट्रिट जर्नलले लिब्राको सदस्यबाट भिसा र मास्टरकार्ड समेतका अरु कम्पनीले पनि संस्थापक सदस्य त्याग्न लागेको खबर छापेसँगै पेपलले यस्तो निर्णय गरेको छ।