काठमाडौं– ५ देशबीचको टि–२० शृङ्खलाका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली ओमानमा छ। शनिबारदेखि शुरु हुने शृङ्खलामा नेपालले आइतबार पहिलो खेल हङकङसँग खेलेर शृङ्खलाको शुरुवात गर्दैछ।
दशैंको मुखमा विदेश गएको नेपालले यसअघि सिंगापुरमा सम्पन्न त्रिकोणात्मक टि–२० शृङ्खला खेलिसकेको छ। दशैंमा ओमानमा रहेका नेपाली टोलीका कप्तान पारस खड्काले यो बर्षको दशैं खेलेरै मनाउने बताए।
उनले यसपालिको दशैं खेलेरै मनाउँने र शृङ्खला सकिएपछि नेपाल फर्किएर टीका लगाउने बताएका छन्। कप्तान खड्काले भने,‘खेलाडी जीवन यस्तै हो।’ सिंगापुरविरुद्धको त्रिकोणात्क शृङ्खलामा ऐतिहासिक शतक प्रहार गरेका कप्तान खड्काले अगाडि भने,‘खेल भएपछि कुनै विकल्प रहँदैन।’
देशको लागि खेल्नेहरुलाई के दशैं, के तिहार?
हङकङसँग खेल्दै शृङ्खला शुरु गर्ने नेपालले दोस्रो खेल सोमबार नेदरल्याण्ड्ससँग प्रतिस्पर्धा गर्ने नेपाली टोलीले तेस्रो खेल बुधबार आयरल्याण्डसँग खेल्ने तालिका रहेको छ। यस्तै, बिहीबार शृङ्खलाको अन्तिम खेल नेपालले ओमानसँग खेल्नेछ। खेल ओमान क्रिकेट टर्फ ग्राउण्डमा हुनेछ।