एजेन्सी, १० माघ –भेनेजुएलाको संसदका नेता हुँवा गुएइदोले राष्ट्रपति निकोलास मदुरोलाई विस्थापित गरी आफूलाई मुलुकको ‘अन्तरिम राष्ट्रपति’ घोषणा गरेको छन्। गुएइदोको उक्त घोषणासँगै राजधानी काराकासका सडकमा दशौं हजारले विपक्षी नेताको समर्थनमा खुशी मनाउँदै जुलुस निकालेका छन्।
गुएइदोलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाको पूर्ण समर्थन रहने घोषणा गरेका छन् भने युरोपेली युनियन, भेनेजुएलाका छिमेकी देशहरु ब्राजिल, कोलम्बिया, चिली, अर्जेन्टिना समेतले गुएइदोलाई समर्थन गरेका छन्।
राष्ट्रपति निकोलास मदुरोले विपक्षी नेता गुएइदोको समर्थन गरेको भन्दै अमेरिकी कुटनीतिज्ञलाई भेनेजुएला छाड्न आदेश दिएका छन्। यद्यपी राष्ट्रपति मदुरोको पछिल्लो अवस्थाका बारेमा केही सार्वजनिक भएको छैन।
भेनेजुएलाको संसद, सेना र अदालत सबै विभाजित भएको ठानिएको छ। राजधानी काराकास समेत देशका सबै प्रमुख शहरमा राष्ट्रपति मदुरोको विपक्षमा नारा जुलुस भएका छन्। नारा जुलुसकै क्रममा भएको झडपमा एक दर्जनभन्दा बढी प्रदर्शनकारीको मृत्यु पनि भएको छ। देशभित्र फैलिएको अराजक स्थितिका कारण कतिपय स्थानमा लुटपाटका घटना भएका छन्।
‘आज जे भएको छ यसले हामीमा एउटा आशाको सञ्चार भएको छ, यो अति आवश्यक थियो। अब हामीलाई अघि बढ्ने बाटो खुलेको छ,’ सरकार विरोधी जुलुसमा सहभागी ४३ वर्षे प्राध्यापक जोजे ग्रेगोरियो फ्लोरेसले बताए।
राष्ट्रिय सभाका विपक्षी नेता गुएइदोले आफूलाई अन्तरिम राष्ट्रपति घोषणा गरेलगत्तै सडकमा उत्रिएका फ्लोरेसले उक्त आशा र विश्वास व्यक्त गरेका छन्। ‘गुएइदोले जे भन्नुहुन्छ हामीले समर्थन गर्नुको अब विकल्प छैन। उनले आफू सदाका लागि राष्ट्रपति हुन्न भन्नुभएको छ, उहाँले अब चुनावको मिति घोषणा गर्नु पर्दछ,’ फ्लोरेसले बताए। ‘काराकासको पूरै सहर उहाँको समर्थनमा सडकमा उत्रिएको छ।’
घोषणालगत्तै सडकमा सवारी साधनले लगातार हर्न बजाएका थिए। कतिपय रङ्गीविरङ्गी पोशाकमा सहभागी प्रदर्शनकारीले भेनेजुएलाको झण्डा फहराएका थिए। प्रदर्शनकारीहरु शहरका एक कुनाबाट अर्को कुनामा मोटरसाइकलमा झण्डा हालेर दौडिरहेका थिए।
भेनेजुएलाको अर्थतन्त्र धरापमा परेसँगै राष्ट्रपति निकोलास मदुरोको शासन सङ्कटमा परिरहेको थियो। चौतर्फी आलोचना खेपीरहेको मदुरोको शासनका विरुद्धमा लगातार विरोध प्रदर्शन भइरहेका थिए। गत वर्ष संयुक्तराज्य अमेरिका र भेनेजुएलाका छिमेकी मुलुकहरुले राष्ट्रपति मदुरोको पुनः निर्वाचनलाई अबैध घोषणा गरेका थिए।
प्रदर्शनकारीलाई सम्बोधन गर्दै विपक्षी नेता गुएइदोले भने, ‘हामीलाई थाहा छ, यसले निश्चित परिणाम दिनेछ। हामीले पूर्ण लोकतन्त्र प्राप्त नगर्दासम्म प्रदर्शन जारी रहन्छ। हामी जनताको आशा र अभियानलाई खेर जान दिने छैनौं।’ एक जना मानव अधिकारवादी वकिल गोन्जालेजले भने, ‘हुँवा गुएइदो राष्ट्रपति भइसक्नुभो, त्यसका लागि हामी लड्न अझै तयार हुनु परेको छ।’(रासस)