एजेन्सी– पटनाका अधिकांश क्षेत्रहरू डुबानमा परेका छन। ठूलो वर्षा भएपछि बाढीका कारण भारतका उत्तर प्रदेश र बिहार राज्यमा १०० जनाभन्दा बढी मानिसको ज्यान गएको अधिकारीहरूले जानकारी दिएका छन्। ती राज्यका सहरी क्षेत्रमा वर्षा र बाढीले जनजीवनलाई प्रभावित बनाइदिएका दृश्यहरू सार्वजनिक भएका छन्।
अधिकारीहरूले रेल सेवा, अन्य यातायात सेवा, स्वास्थ्य सेवा, विद्यालय तथा विद्युत् आपूर्ति अस्तव्यस्त भएको जानकारी दिएका छन्। बिहीवार यता उत्तर प्रदेशमा मात्रै ९३ जनाको मृत्यु भएको जनाइएको छ। राज्यको विपद् व्यवस्थापन निकायले बिहारमा २९ जनाको मृत्यु भएको जानकारी दिएको छ। बिहारको मुख्य सहर पटना पनि बाढीले प्रभावित भएको छ।
पटनामा मानिसहरू डुङ्गा चढ्न बाध्य भएका छन्। सडकमा पानीमा डुबेका सवारीसाधनहरू देखिन्छन्। एकजना चालकले पानीबाट आफ्नो रिक्सा तान्न कष्ट गरिरहेको भिडियो सामाजिक सञ्जालमा धेरैले प्रेषित गरेका छन्।
पटना शुक्रवारदेखि जलमग्न भएको हो। त्यहाँ धेरै आवासीय क्षेत्र डुबानमा परेका छन्। पीटीआई सामाचारसंस्थाले एक अधिकारीलाई उद्धृत गर्दै सहरमा परेको पानी ‘पूर्णतः अनपेक्षित’ भएको उल्लेख गरेको छ।
भारतीय वायुसेनालाई हेलिकप्टर तथा पानी फाल्ने उपकरण उपलब्ध गराउन बिहार सरकारले अनुरोध गरेको छ। उत्तर प्रदेशमा पनि उस्तै परिस्थिति छ।
एक स्थानीय बासिन्दाले समाचारसंस्था रोएटर्सलाई भने, ‘पानीको अवस्था नराम्रो छ, बनारसको अवस्था नराम्रो छ र त्यहाँ ढल निकास बिग्रिएको छ।’