एजेन्सी, दिल्ली — चर्चित हिन्दी सिनेमा शोलेमा कालियाको भूमिका निभाएका कलाकार विजू खोटेको निधन भएको छ। ७८ वर्षको उमेरमा सोमबार उनको निधन भएको भारतीय मिडियाहरुमा बताइएको छ। बलिउड कलाकार खोटेले शोले फिल्मबाट निकै चर्चा कमाएका थिए।
शोलेमा उनले कालियाको भूमिका निभाएका थिए। फिल्म शोले र त्यसका हरेक पात्रहरू आज पनि दर्शकहरूको दिमागमा ताजा नै छ। विजू खोटेले बलिउडका थुप्रै सिनेमामा अभिनय गरेका छन्। साथै उनले थुप्रै मराठी फिल्म पनि खेलेका छन्। अभिनय कलाका कारण मराठी सिनेमा जगतमा पनि उनी निकै चर्चित छन्।
भारतीय सञ्चार माध्यमा आएका खबरअनुसार उनको निधन हृदयघातको कारणले भएको हो। उनको स्वास्थ्य धेरै दिनदेखि खराब थियो।
मिडिया रिपोर्ट्सका आधारमा विजूले हिन्दी र मराठी गरेर ३०० सिनेमामा काम गरेका छन्। तर शोले फिल्मले उनलाई चर्चाको शिखरमा र्पुयाएको थियो। यो सिनेमामा डाकु कालिया बनेका विजूका धेरै डायलगहरु अहिलेसम्म पनि चर्चित छन्। ’सरदार मैंने आपका नमक खाया है’ उनको चर्तिच डायलगमध्येको एक हो।
शोलेपछि उनले सलमान खान र अमिर खानको फिल्म ’अन्दाज अपनाअपना’ मा पनि अभिनय गरेका थिए। यो फिल्ममा उनले दर्शकको मन जित्न सफल रोबर्टको भूमिका निभाएका थिए।
उनले अभिनयको सुरुवात ’या मालक’ नामक सिनेमाबाट गरेका थिए। त्यसपछि उनी रामपुरका लक्ष्मण, हद कर दी आपने, गोलमाल ३ लगायतका धेरै सिनेमाहरुमा जोडदार अभिनयसहित प्रस्तुत भएका थिए।