नयाँ दिल्ली, ९ माघ – अन्तत: भारतीय राष्ट्रिय कांग्रेसका अध्यक्ष राहुल गान्धीले आफ्नी बहिनी प्रियंका गान्धी वाड्रालाई राजनीतिको मैदानमा उतारेका छन्।
सन् २०१४ को लोकसभा निर्वाचनमा लज्जाजनक हार व्यहोरेको कांग्रेसले सन् २०१९ को निर्वाचनमा प्रियंका गान्धीलाई वैशाखी बनाएर वैतरणी पार गर्ने सोचेको देखिन्छ।
प्रियंका गान्धी वाड्रालाई औपचारिक रुपमा राजनीतिमा प्रवेश गराउँदै भारतीय राष्ट्रिय कांग्रेसले उनलाई उत्तर प्रदेशको पूर्वी क्षेत्रका लागि महासचिव नियुक्त गरेको छ।
बुधबार एक विज्ञप्ति जारी गर्दै अध्यक्ष राहुल गान्धीले प्रियंकालाई उत्तर प्रदेशको पूर्वी क्षेत्रका लागि महासचिव नियुक्त गरेको जनाएका छन्। प्रियंकालाई कांग्रेसले आधिकारीक रुपमा पहिलोपटक पार्टीको जिम्मेवारी दिएको हो। प्रियंकाले आगामी फेब्रुअरीदेखि सो कार्यभार सम्हाल्ने विज्ञप्तिमा उल्लेख गरिएको छ।
प्रियंकालाई पार्टीमा यति ठूलो जिम्मेवारी दिइएपछि कांग्रेसका नेताहरुले यो निर्णयबाट पार्टी कार्यकर्तामा उत्साह थपिने विश्वास लिएका छन्।
सत्तारुढ दल भारतीय जनता पार्टीले भने कांग्रेस अध्यक्ष राहुल गान्धीको यस निर्णयलाई परिवारवादको निरन्तरता बताएको छ।
कांग्रेसले बुधबार एक प्रेस विज्ञप्ति जारी गरी कांग्रेस अध्यक्ष राहुल गान्धीले संगठनको महासचिवमा केसी वेणुगोपाल, प्रियंका गान्धी वाड्रालाई पूर्वी उत्तर प्रदेशको महासचिव, ज्योतिरादित्य सिन्धियालाई पश्चिम उत्तर प्रदेशको महासचिव र गुलाम नबी आजादलाई हरियाणाका लागि महासचिव नियुक्त गरिएको जनाएको छ।
प्रियंका पूर्व प्रधानमन्त्री स्व. राजीव गान्धी र कांग्रेसकी पूर्व अध्यक्ष सोनिया गान्धीकी पुत्री हुन् भने कांग्रेसका वर्तमान अध्यक्ष राहुल गान्धीकी बहिनी हुन्। सन १९७२ मा जन्मिएकी प्रियंकाले राजीव गान्धी फाउण्डेशनको संरक्षकका रुपमा काम गरेकी छिन्।
यद्यपि, राजनीतिमा औपचारिक रुपमा संलग्न नभए पनि उनले २००४ देखि नै कांग्रेसका लागि भोट माग्न शुरु गरेकी थिइन्। उनले २००४ को आम चुनावमा आमा सोनिया गान्धीको चुनाव व्यवस्थापकका रुपमा काम गरेकी थिइन्। आफ्ना दाजु राहुल गान्धीको चुनावी अभियानमा पनि उनले सहयोग गरेकी थिइन्।
त्यसैगरी २००७ मा उत्तर प्रदेश विधानसभा चुनावमा पनि अमेठी रायबरेली क्षेत्रका १० सिटमा प्रचारप्रसारमा लागेकी थिइन्। प्रियंका आफ्नी आमा सोनिया गान्धी र दाजु राहुल गान्धीको निर्वाचन क्षेत्र रायबरेली र अमेठीका लागि निकै चर्चित अनुहार हुन्। ती निर्वाचन क्षेत्रमा उनले कयौं पटक त्यहाँका जनतासँग सम्पर्क पनि गरेकी छिन्।
सन् १९९७ मा दिल्लीका व्यवसायी रोबर्ट वाड्रासँग वैवाहिक बन्धनमा बाँधिएकी प्रियंका र रोबर्टका एक छोरा र एक छोरी छन्। प्रियंकाको हिन्दु परम्पराअनुसार विवाह भएको थियो। तर, उनले अहिले बौद्ध दर्शनलाई मान्ने गर्दछिन्।