काठमाडौं– नेपालीहरुको महान चाड दशैं आज (आइतबार) बाट शुरु भएको छ। घटस्थापनाकाे दिन घरघरमा जमरा राखेर दशैंको औपचारिक शुरुवात भइसकेको छ। दशैंको लागि परदेशीहरु देश तथा देशबासीहरु आफ्नो घर फर्कने क्रम शुरु भएको छ।
देशका लागि खेल्ने केहि खेलाडीहरू भने दशैं परदेशमा नै मनाउन बाध्य भएका छन्। १३ औं दक्षिण एसियली खेलकुद नजिकिईरहेको अवस्थामा पनि राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले खेलाडीहरुलाई दशैंका लागि भनेर ५ दिनको विदा दिने भएको छ। तर देशलाई प्रतिनिधित्व गर्दै विदेश पुगेका केहि खेलाडीहरुले भने यसपालीकाे दशैं आफन्तहरुसँग मनाउन नपाउने भएका छन्।
नेपाली क्रिकेट टोली त्रिकोणात्मक सिरिजका लागि अहिले सिंगापुरमा छ। सिंगापुरमा खेल सकेर उक्त टोली उतैबाट ओमान जानेछ। ओमानमा नेपालले असाेज १८ देखि असाेज २३ सम्म ५ राष्ट्र सम्मिलित प्रतियोगिता खेल्नेछ। नेपाली क्रिकेट टोलीले याे दशैं परदेशमै मनाउने छ।
त्यस्तै फिफा विश्वकप २०२२ तथा एसियन कप २०२३ छनोट खेलिरहेको राष्ट्रिय फुटबल टोली पनि असोज १५ गते अष्ट्रेलिया जाँदैछ। अष्ट्रेलियासँगको अवे खेलका लागि नेपाली फुटबल टोली उता जाने तयारीमा छ। उनीहरु पनि आफ्नो घरपरिवार तथा आफन्तहरुबाट टाढिएर दशैं मनाउनुपर्ने बाध्यतामा छन्।
देशको लागि खेल्ने खेलाडीहरुको दशैं, तिहार भने कहिले कता कहिले कता हुन्छ। उनीहरुको लागि देशको सफलता नै दशैं, अनि तिहार हो। सायद आफन्तहरुसँगको सामिप्यता भन्दा पनि देशको प्रतिष्ठा उनीहरुको लागि महत्वपूर्ण हुन्छ।