एजेन्सी– शनिबार दिउँसो अमेरिकाको मेरिल्याण्डस्थित एक सपिङ्ग मलमा पाँच जनालाई छुरा प्रहार गर्ने व्यक्ति प्रहरी कारबाहीमा मारिएका छन्।
प्रहरीको अनुसार जथाभावी छुरा हान्न थालेको सूचना पाउनासाथ प्रहरीले ती व्यक्तिमाथि गोली हानेको हो। अधिकारीहरुले ककिसभिलस्थित हन्ट भ्याली टाउन सेन्टरमा सो घटना भएको जानकारी दिएका छन्।
बाल्टीमोर प्रहरीले जारी गरेको वक्तव्यमा छुरा प्रहार गर्नेको साथबाट छुरा बरामद गरिएको उल्लेख छ। प्रहरीको अनुसार छुरा प्रहार गर्ने र मृत्यु हुने व्यक्तिको पहिचान खुल्न सकेको छैन्। अधिकारीहरुले घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको जानकारी दिएका छन्।
स्थानीय प्रहरीको अनुसार अहिलेसम्म छुरा प्रहार गर्नुको कारण खुल्न सकेको छैन्। छुरा प्रहारबाट घाइते भएका सबैजना स्थानीय अस्पतालमा उपचाररत छन्।